काठमाडौंमा पाँच हजारजनासँग व्यक्तिगत हात–हतियार, प्रशासनलाई फिर्ता गर्नेको संख्या भने शून्य

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

गृह मन्त्रालयले वैशाखको पहिलो सातासम्म व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन निर्देशन दिए पनि देशभर हालसम्म जम्मा ९२४ वटा हात हतियार मात्रै गृह प्रशासनले प्राप्त गरेको छ। चुनावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले व्यक्तिसँग भएको हात हतियार फिर्ता हुने गरी नजिकको प्रहरी कार्यालय वा प्रशासनमा बुझाउन अनुरोध गरेको थियो। तर निकै कम व्यक्तिले मात्रै निजी रूपमा राखेका हातहतियार प्रशासनलाई बुझाएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सरकारसँग अनुमति लिएर हातहतियार राखेका व्यक्तिलाई चुनाव हुने मितिभन्दा १५ दिन अघिसम्म हतियार बुझाउन निर्देशन दिइएको छ। यदि हतियार नबुझाएको र त्यसको दुरुपयोग भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रवक्ता पोखरेलले बताए। 

उनका अनुसार सुरक्षा थ्रेट भएका व्यक्तिलाई आवश्यकताको आधारमा हतियार राख्न अनुमति दिइन्छ। तर त्यसमा साना र स्वचालित हातहतियार पर्दैनन् । एकनाले र दुईनालेलगायत किसिमका बन्दुक व्यक्तिले राख्न पाउँछन्। अन्य खुकुरी तथा धारिला हतियार भने प्रशासनलाई बुझाउन पर्दैन। 

‘हामीले व्यक्तिसँग भएका हातहतियार चुनाव अवधिभरका लागि प्रहरी प्रशासनको जिम्मा लगाउन अनुरोध गरेका छौँ,’ उनले भने, ‘यदि कोही व्यक्तिले हातहतियार नबुझाएको र त्यसको दुरुपयोग गरेको पाइएमा कानुनअनुसार कारबाही हुन्छ।’

उनले सबैभन्दा बढी हातहतियार तराईका जिल्लाका व्यक्तिले बुझाएको बताए। काठमाडौंमा भने हातहतियार बुझाउनेको संख्या शून्य छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार काठमाडौंमा पाँच हजार हातहतियार राख्नको लागि प्रशासनले अुनमति दिएको छ। 

तर हालसम्म एकजनाले पनि जिल्ला प्रशासनमा हातहतियार बुझाउन आएका छैनन्। यदि व्यक्तिले हतियार बुझाउन नआए प्रशासनले आफूसँग भएको रेकर्डका आधारमा व्यक्तिलाई हातहतियार बुझाउन निर्देशन दिनेछ। व्यक्तिगत रूपमा आग्रह गर्दा पनि हतियार नबुझाएमा प्रहरीले अनुगमन गरी कारबाही गर्ने प्रजिअ रिजालले बताए। 

ललितपुरमा ९२३ जनाले अनुमति लिएर हातहतियार राखेका छन्। ३८ जनाले हातहतियार बुझाएका छन्। व्यक्तिगत रूपमा भएका हतियार बुझाउन जिल्ला प्रशासनले निर्देशन दिएको छ। वैशाख १५ गतेभित्र हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। 

‘हालसम्म केही व्यक्तिले हातहतियार बुझाएका छन्, अझै बुझाउन मिल्ने समय छ,’ उनले भने, ‘कोही व्यक्तिले लुकीछिपी हतियार राखेको भए प्रहरीबाट अनुगमन पनि हुन्छ।’ 

भक्तपुर जिल्ला प्रशासन कार्यालयसँग ४४ जना व्यक्तिले हातहतियार राख्ने अुनमति लिएका छन्। त्यसमध्ये १४  जनाले मात्रै हतियार बुझाएका छन्। अन्य व्यक्तिसँग भएका हतियार बुझाउन प्रहरीमार्फत ताकेता गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।  

स्वेच्छाले बुझाएका हातहतियार सुरक्षित राखिनेछ र चुनावपछि फिर्ता हुनेछ। यसबाहेक प्रशासनले अुनमति नदिएका हातहतियार राख्नेमाथि पनि अनुगमन गरिनेछ। हातहतियारको दुरुपयोग भएमा कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए। 

उनले सुरुमा आग्रह गरिने र हातहतियार बुझाउन नआए प्रहरीले अनुगमनसमेत गर्ने बताए। प्रशासनबाट अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भएकोले चुनाव अवधिभर ती हतियार फिर्ता मागिएको हो। 

सुरक्षा ‘थ्रेट’ महसुस भए कोही व्यक्तिले आफनो सुरक्षाको लागि अनुमति लिएर हतियार राख्न पाउँछन्। एकजना व्यक्तिले ३ वटासम्म हतियार राख्न पाउने कानुनी व्यवस्था छ।  
 
 

सुझावित समाचार