जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य संकट रोक्न सक्ने स्रोतका रूपमा बिउ बैंकहरूलाई मानिँदै छन् । विश्वका हरेक पाँचमध्ये दुई खाद्य प्रजाति लोप हुने जोखिममा छन् । अनुसन्धानकर्ताले पृथ्वीमा कम्तीमा दुई लाख खाद्य प्रजाति रहेको बताए पनि विश्वको आधा जनसंख्या केवल मकै, चामल र गहुँमा निर्भर छ ।
विश्वमा अहिले करिब एक हजार सात सय बिउ बैंक वा जिन बैंक छन् । बिउ बैंकले विश्वभरका वनस्पति प्रजातिहरूको संकलन गरेर वैज्ञानिक अनुसन्धान, शिक्षा, प्रजाति संरक्षण र आदिवासी संस्कृतिहरू संरक्षणमा बहुमूल्य योगदान पुर्याउँछन् । ‘उचित लगानी भएको, राम्रोसँग मर्मत–सम्भार गरिएको बिउ बैंकहरू कृषिमा जलवायु संकटको नकारात्मक प्रभाव कम गर्न महत्वपूर्ण हुन्छन्,’ ग्लोबल क्रप डाइभर्सिटी ट्रस्टका कार्यकारी निर्देशक स्टेफन स्मिट्जले भने । यहाँ विश्वका केही महत्वपूर्ण बिउ बैंकमा नजर लगाउन खोजिएको छ :
प्रलयको दिन काम आउने भल्ट
स्भालबार्ड ग्लोबल सिड भल्ट, नर्वे
स्भालबार्ड ग्लोबल सिड भल्टलाई प्रलयको दिनमा काम आउने भल्ट पनि भनिन्छ । यसले विश्वभरका अन्य बिउ बैंकहरूमा राखिएका प्रत्येक बिउको नमुना समावेश गर्ने लक्ष्य लिएको छ । यसको अवस्थिति जानाजान मानव बस्तीभन्दा धेरै टाढा स्भालबार्ड द्वीप समूहमा राखिएको छ । युरोपको नर्वे र उत्तरी ध्रुवको बीचजस्तो भाग छ । भल्टलाई पर्माफ्रोस्ट र बाक्लो चट्टानका बीचमा बनाइएको छ । यस्तो प्रबन्धमार्फत बिउ नमुना जम्ने आशा गरिन्छ । यद्यपि, सन् २०१७ मा यो क्षेत्रको तापक्रम बढेपछि हिउँ पग्लिँदा भल्टभित्र पानी पसेको थियो ।
यो भल्ट नर्वेजियन सरकारको स्वामित्वमा छ, तथापि यसले विश्व समुदायलाई सेवा दिने लक्ष्य बोकेको छ । यसलाई बाली विविधता संरक्षण गर्न समर्पित संस्था ‘ग्लोबल क्रप डाइभर्सिटी ट्रस्ट’ले सहयोग गरिरहेको छ । स्भालबार्डले ४५ लाख प्रजातिका बाली र २.५ अर्ब बिउ भण्डारण गर्न सक्छ । अहिले भने यसमा लगभग ६ हजार प्रकारका बिरुवाका प्रजातिका ११.४ लाखभन्दा बढी बिउ नमुना छन् ।
‘द्वन्द्व, आगजनी, भूकम्प वा बाढीजस्ता प्राकृतिक प्रकोपहरूबाट नष्ट भएका जिन बैंकहरू स्भालबार्डबाट बिउ नमुना ल्याएर पुनस्र्थापित गर्न सकिन्छ । यस्तो संरचना नहुँदो हो त हाम्रो भविष्यको खाद्यान्न आपूर्तिको सुरक्षा जोखिममा पर्ने निश्चित थियो,’ स्मिथले भने ।
सिरिया युद्धले नष्ट गर्न नसकेको बिउ बैंक
आइसिएआरडिए, बेरुत, लेबनान
एलेप्पोमा मुख्यालय रहेको इन्टरनेसनल सेन्टर फर एग्रिकल्चरल रिसर्च इन द ड्राई एरियाज (आइसिएआरडिए) जिन बैंक सिरियाली युद्धको सिकार बनेपछि सन् २०१२ मा सिरियास्थित शाखा बन्द भयो । त्यसपछि आइसिएआरडिए सञ्चालन गर्ने संस्थाले स्भालबार्डबाट बिउ लिएर पुन सञ्चालन ग¥यो । स्भालबार्डबाट बिउ लिने यो पहिलो र हालसम्मको एक मात्र संस्था पनि हो । आइसिएआरडिए लेबनान र मोरक्कोबीच विभाजित छ । ‘हाम्रा लागि यो अमूल्य थियो,’ लेबनान, जोर्डन र प्यालेस्टाइन क्षेत्र हेर्ने आइसिएआरडिएका प्रबन्ध हसन मच्लाबले भने ।
आइसिएआरडिएले लेबनानस्थित संरचनामा वर्षाको पानी मोड्ने र भण्डारण गर्न सक्ने पूर्वाधार बनाएको छ । केन्द्रले बेरुत, लेबनानमा अस्थायी मुख्यालय स्थापना गरेको छ । आइसिएआरडिएको इजिप्टस्थित परीक्षण केन्द्रमा स्थानीय किसान ज्ञान प्रदान पनि गर्छ । केन्द्रले उत्तर अफ्रिका, सबसहारा अफ्रिका, साथै पश्चिम र दक्षिण एसियाभर कार्यशाला आयोजना गर्छ ।
‘लेबनानील शाखा मुख्यतया अन्न र फलफूलको जंगली प्रजाति संरक्षण गर्न समर्पित छ । ‘अन्न र फलपूmलका नजिक जंगली प्रजाति विषम मौसमी अवस्थामा पनि अनुकूलित हुँदै हुर्किए । तिनीहरूसँग धेरै चाख लाग्दा जिन छन् जुन हामी सधँै अन्वेषण गर्ने प्रयास गर्छाैँ,’ म्याचल्याबले भने, ‘यी जिनले उत्पादन बढाएर, जलवायु परिवर्तनसँग अनुकूलन भएर वा पानीको अभावबीच पनि हुर्किएर उत्पादनमा सुधार गर्न सक्छन् ।’ फेब्रुअरीमा आइसआरडिएले स्भालबार्ड बिउ बैंकमा आठ हजार नमुना जम्मा गर्यो ।
पृथ्वीको सबैभन्दा बढी जैविक विविधतायुक्त स्थान
मिलेनियम सिड बैंक, ससेक्स, युके
सन् २००० मा सुरु भएको र ग्रामीण ससेक्स, इंग्ल्यान्डस्थित मिलेनियम सिड बैंकलाई विश्वको सबैभन्दा विविधतायुक्त वनस्पति आनुवंशिक स्रोत मानिन्छ । बाढी, बम र विकीरणले नछुने भल्टमा राखिएको बिउको संकलनमा हालसम्म ४० हजार प्रजातिका २.४ अर्बभन्दा बढी बिउ जम्मा भइसकेको छ । मिलेनियम सिड बैंकमा संयुक्त अधिराज्यका लगभग सबै रैथाने वनस्पतिका बिउहरू संकलन गरी राखिएको छ । त्यस अतिरिक्त एक सय ८९ देश वा क्षेत्रका बिउ पनि यसको संकलनमा छ ।
यहाँ विश्वभरका जंगली बोटबिरुवाको प्रजाति (१६ प्रतिशत) भण्डारण छ ।भल्टभित्र बिउ भण्डारण गर्नुअघि बिउ प्रशोधन सहयोगीको टोलीहरूले बिउलाई सुकाएर जमाउँछन् । प्रशोधित बिउहरू शून्यभन्दा न्यून तापक्रमको कक्षहरूमा भण्डारण गरिन्छ । सन् २०११ र सन् २०२१ बीचमा यसले केरा, सिमी, मटर, गाँजर र स्याउजस्ता प्राथमिकता प्राप्त बालीको जंगली नातेदारहरूको संरक्षण र प्रयोग गर्ने उद्देश्यले गठित क्रप वाइल्ड रिलेटिभ्स परियोजनामा नर्वे सरकार र क्रप ट्रस्टसँग सहकार्य गर्यो । परियोजनाको क्रममा, सयभन्दा बढी वैज्ञानिकले विश्वको जैविक विविधतायुक्त ‘हटस्पट’बाट करिब ४५ सय बिउ नमुना संकलन गरे । क्रप ट्रस्टका अनुसार यो संकलनविना ती बिउ सदाका लागि हराउन सक्थे ।
विश्वको पहिलो बिउ बैंक
भाभिलोभ इन्स्टिच्युट, रुस
सेन्ट पिटर्सबर्ग रुसस्थित विश्वको सबैभन्दा पुरानो बिउ बैंकमध्ये एक मानिने भाभिलोभ रिसर्च इन्स्टिच्युट अफ प्लान्ट सन् १९२१ मा गठन भएको थियो । यसको स्थापना बाली विविधता संरक्षण क्षेत्रका अग्रणी रुसीका वनस्पतिविद् निकोलाई भाभिलोभले स्थापना गरेका थिए ।सन् १९४० को दशकको सुरुमा लेनिनग्रादको घेराबन्दीमा यो संस्था लगभग हराइसकेको थियो । तर, वैज्ञानिकहरूको एक समूहले त्यसवेला १५ वर्षभन्दा बढीदेखिको संकलनको सुरक्षा गरेका थिए ।
भाभिलोभका धेरै बिउ सामान्य कोठाको तापक्रममा धातुको बक्सभित्र भण्डारण गरिन्छ । यद्यपि, केही चिसो भण्डारण पनि छन् । दक्षिण–पूर्वी फ्रान्सको भाभिलोभ सुरक्षात्मक बगैँचामा ती बिउको प्रयोग गरेर बिरुवा उब्जाइएको छ जसको आयु केवल पाँचदेखि सात वर्षसम्म रहन्छ । त्यसकारण ती बिरुवालाई अन्त सार्नुपर्छ । नयाँ बिरुवा बढिसकेपछि, बीज भाभिलोभ बैंकमा सकलन र पुनस्र्थापित गरिन्छ ।
सेन्ट पिटर्सबर्गको घेराबन्दीका वेला यस बिउ बैंकको सुरक्षामा खटिएका नौ वैज्ञानिकको खान नपाएर मृत्यु भएको थियो । उनीहरूले संकलित बिउ संरक्षणकै लागि खाएनन् । भाभिलोभको पनि भोकमरीका कारण सन् १९४३ मा जेलमै मृत्यु भयो । आज, भाभिलोभ इन्स्टिच्युटमा तीन लाख २५ हजारभन्दा बढी बिउका नमुना छन् । जुन संरक्षण नहुँदा पृथ्वीबाट लोप हुन सक्थे । यसमा एउटा प्रजाति इथियोपियन गहुँ पनि छ । जुन सन् १९७० को गृहयुद्धका वेला झन्डै नष्ट भएको थियो ।
विश्वको सबैभन्दा ठूलो बीज बैंक
नेसनल ल्याबोरेटोरी फर जेनेटिक रिसोर्सेस प्रिजर्भेसन, कोलोराडो
फोर्ट कोलिन्समा रहेको नेसनल ल्याबोरेटोरी फर जेनेटिक रिसोर्सेस प्रिजर्भेसन अमेरिकी कृषि मन्त्रालयले चलाउँछ । यसले अमेरिकाभित्र आनुवंशिक बिरुवाको जगेडाका लागि काम गर्छ । १५ लाख नमुना भण्डारण गर्ने क्षमता भएको यो बैंकमा भएका बिउमध्ये ५० प्रतिशत अति धेरै चिसो क्रायोजेनिक ट्यांकीमा राख्न सकिन्छ । यो बिउ बैंकमा हाल १२ हजार वनस्पति प्रजातिका आनुवंशिक सामग्रीका पाँच लाखभन्दा बढी नमुना छन् ।
फोर्ट कोलिन्स, कोलोराडोका नेसनल ल्याबोरेटोरी फर जेनेटिक रिसोर्सेस प्रिजर्भेसन संसारको सबैभन्दा ठूलो बीज बैंक हो । प्रयोगशाला प्राविधिकहरूले वेला–वेलामा बिउ जीवित रहे नरहेको सुनिश्चित गर्न नमुना जाँच गर्छन् । बिउ प्रायः अनुसन्धान र अध्ययनका लागि वैज्ञानिकलाई वितरण गरिन्छ । सन् १९८० को दशकमा यस बैंकको बिउले टेक्सासमा फैलिएको रुसी गहुँको एफिड किराको प्रकोप नियन्त्रण गर्न सहयोग गर्यो । त्यसवेला केही नमुनाले एफिडको प्रतिरोध गरेको पाइएपछि र संक्रमण नियन्त्रण गर्न प्रयोग गरिएको थियो ।
आदिवासी संस्कृतिको संरक्षण गरिरहेको एक बिउ बैंक
पोट्याटो पार्क, पिसाक, पेरु
पोट्याटो पार्क पेरुको पिसाकस्थित इन्कास उपत्यकाबीचमा रहेको छ । स्थानीय आदिवासी समुदायले संचालन गरेको यो पार्कले मकै र क्विनोआलगायत एन्डिज क्षेत्रका बालीहरूको संरक्षण गर्छ । तर, यसले आलु संरक्षणमा विशेष ध्यान दिन्छ । यहाँ विश्वमा पहिचान भएका चार हजार प्रकारमध्ये २३ सय प्रकारका आलु छन् । यस्तै पहिचान भएका दुई सय जंगली प्रजातिमध्ये २३ वटा यहीँ छन् । पुरातत्वविद्हरूका अनुसार आलु पहिलो पटक लगभग आठ हजार वर्ष पहिले, बोलिभिया र पेरुको सिमानामा रहेको टिटिकाका तालको किनारमा प्रयोग भएको थियो । पोट्याटो पार्क वास्तवमा आलु फलाउने ६ समुदायको सहकार्य हो । यो पार्कले विश्वव्यापी खाद्य आपूर्तिलाई संरक्षण गर्ने उद्देश्यले स्भालबार्डमा सात सय ५० प्रकारका बिउ जम्मा गरेपछि उत्सव मनाएको थियो । पार्कले जलवायु परिवर्तनका जटिलतासँग जुध्न सक्ने आलुका प्रजाति विकास गर्न गैरनाफामुखी संस्था र वैज्ञानिकसँग सहकार्य गर्छ ।
द गार्जियनबाट