गठबन्धन दलभित्र नै चुनावी तालमेल हुन्छ : डा. भट्टराई

मंगलबार, ६ बैशाख, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूभित्र नै तालमेल हुने बताएका छन्। गृहजिल्लामा भएको चुनावी सभालाई सम्बोधन गर्दै डा. भट्टराईले आवश्यकता र औचित्यको आधारमा गठबन्धन दलभित्र नै चुनावी तालमेल हुने बताएका हुन्। 

सत्तागठबन्धनका दलबीच महानगर र उपमहानगरको भागबन्डा करिब टुंगिएको र पोखरा एकीकृत समाजवादीलाई दिँदा कांग्रेसका कार्यकर्ताले विरोध गरेकाले महानगरको अन्तिम निर्णय आउन बाँकी रहेको उनले बताए। बाँकी स्थानीय तहमा पनि गठबन्धन दलभित्र नै चुनावी तालमेल हुने उनले बताए। 

‘गठबन्धनका दलहरू स्थानीय निर्वाचनमा सँगै जाँदा राम्रो हुन्छ। गठबन्धनभन्दा बाहिरको दलसँग तालमेल हुँदै हुन्न त भन्न मिल्दैन तर नैतिक रूपले राम्रो हुँदैन। त्यसैले गठबन्धनबाहिर नजाने तर गठबन्धनभित्र चाहिँ जो जससँग मिल्न सक्छ, उनीहरूसँग आवश्यकता र औचित्यको आधारमा तालमेल हुन्छ,’ उनले भने। गबन्धन दलभन्दा बाहिरका दलसँग चुनावी तालमेलको सम्भावना अत्यन्तै न्यून रहेको उनको भनाइ छ। 

त्यस्तै, केही व्यक्तिहरूले स्थानीय निर्वाचन समयमै हुने नहुने कुरामा आशंका व्यक्त गरेको बताउँदै वैशाख ३० मै चुनाव गर्न राजनीतिक समस्या केही नभएको उनले बताए। २०७४ मा दोस्रो चरणमा निर्वाचन भएको स्थानीय तहको म्याद असोज ५ सम्म बाँकी रहेको र यो विषयमा अधिवक्ताहरूले यसअघि नै संविधानअनुसार वैशाख ३० मा चुनाव गर्दा बाझिने जानकारी दिएको उनले बताए। ‘संवैधानिक समस्या छ तर राजनीतिक रूपमा कुनै समस्या छैन। कानुनी ढंगले भयो भने के लाग्यो र? राजनीतिक रूपमा संशय छैन,’ उनले भने। समयमै कानुन र संविधान संशोधन गरेर अगाडि बढ्नसमेत उनले आग्रह गरे। 

सुझावित समाचार