यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा तालमेल गरेर जाने निर्णय गरेको सत्तारुढ गठबन्धनलाई नेतृत्व भागबन्डामा भने सकस देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच कुनै पनि जिल्लामा नेतृत्व भागबन्डामा सहमति जुटेको छैन । बरु दलहरूका कतिपय पालिका र निर्वाचन क्षेत्रका कमिटीले आ–आफ्नो तहमा तालमेल नगर्ने निर्णय गर्दै उम्मेदवार घोषणा र सिफारिस गर्न थालेका छन् ।
कतिपय ठाउँमा तालमेलको सम्भावना कम हुँदै गएपछि गठबन्धनमा आबद्ध दलका स्थानीय कमिटीले एकल उम्मेदवार घोषणा गर्ने र उम्मेदवारका आकांक्षीको नाम माथिल्लो कमिटीमा सिफारिस पठाउने कार्य गरिरहेका हुन् । कैलाली, कञ्चनपुर, अछाम, दार्चुला, बझाङ जिल्लामा सिट बाँडफाँडमा बढी मतभेद देखिए पनि प्रदेशका नौवटै जिल्लामा सिट बाँडफाँडमा सकस देखिएको छ । दलहरू आ–आफ्नो दाबीबाट पछि हट्न तयार नदेखिएकाले कतिपय ठाउँमा गठबन्धन हुने सम्भावना कम देखिएको आकलन हुन थालेको छ ।
प्रदेशमा सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा गठबन्धनमा सिट बाँडफाँडको कुरा मिलेको छैन । जिल्लामा पटक–पटक बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसकेपछि गठबन्धनको प्रदेश समितिलाई बाँडफाँडको जिम्मा दिइएको छ । यहाँका १३ वटा तहमध्ये कांग्रेसले ११, माओवादीले सात र समाजवादीले पाँचवटा तहको नेतृत्व दाबी गरेका छन् । कैलालीमा अहिले एमालेले ६, कांग्रेसले चार र माओवादीले एकजना कार्यवाहक अध्यक्षसहित तीन तहको नेतृत्व गरिरहेका छन् ।
केन्द्रले तय गरेको सातबुँदे मापदण्डमै दलहरूबीच बुझाइ फरक परेपछि भागबन्डामा समस्या भएको नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले बताए । ‘जनमत केलाई आधार मान्नेजस्ता विषयमा सबैको आ–आफ्नै बुझाइ रह्यो । जिल्लामा सहमति नभएपछि प्रदेश पठाउने निर्णय भएको छ,’ मिश्रले भने ।
बझाङमा पनि गठबन्धनबीच भागबन्डामा सहमति हुन सकेको छैन । गठबन्धनको सहमतिको सम्भावना कम देखिएपछि दलहरूले आ–आफ्नो पार्टीबाट उम्मेदवार छनाेटको प्रक्रिया अगाडि बढाएका छन् । ‘गठबन्धनको सम्भावना कम देखिन्छ, तर सम्भावना समाप्त भइसकेको छैन,’ बझाङबाट प्रतिनिधित्व गर्ने माओवादी प्रदेश सचिव जनक बुढाले भने, ‘हामीले उम्मेदवार छनाेट अगाडि बढाएका छौँ, सहमति भए उम्मेदवार छानिएका साथीहरूलाई ब्याक गर्छौँ ।’ दुईवटा पालिकामा उम्मेदवारको टुंगो लगाएको र बाँकी १० वटा पालिकामा एक–दुई दिनमै उम्मेदवार तय गर्ने उनले बताए ।
नेकपा एकीकृत समाजवादीका बझाङ जिल्ला संयोजक दिलबहादुर सिंहले नेतृत्व भगबन्डामा विवाद देखिएकाले जिल्लामा गठबन्धन हुने सम्भावना न्यून रहेको बताए । गठबन्धनमा समन्वय गर्ने जिम्मा पाएको कांग्रेसले बैठक डाकेर छलफल नै गर्न नचाहेको उनको आरोप छ । ‘अनौपचारिक छलफल भयो । उक्त छलफलमा तीनै पार्टीले आ–आफ्नो दाबी पेस गरे,’ उनले नयाँ पत्रिकासँग भने, ‘आफ्नो संगठन नै नभएको ठाउँमा दाबी आएपछि समस्या देखियो । गठबन्धनको सम्भावना कम भएपछि हामी आफ्नो हिसाबले अगाडि बढ्दै छौँ ।’
नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले छलफलहरू भइरहे पनि भागबन्डाको विषय कुनै जिल्लामा नटुंगिएको बताए । सकेसम्म गठबन्धनमै जोड दिइरहेकाे, तर कतिपय ठाउँमा गठबन्धनको सम्भावना नदेखिएको उनले बताए । ‘सबै जिल्लामा छलफल भइरहेका छन् । केही ठाउँमा मिल्ने देखिन्छ । केहीमा मिल्ने देखिदैन,’ सभापति बलायरले भने, ‘सकेसम्म गठबन्धन गरेरै जान भनेका छौँ ।’ जिल्लाले मिलाउन नसकेका ठाउँमा प्रदेशमा प्रयास गरिने उनले बताए ।
भागबन्डामा सकस भइरहँदा गठबन्धनमा आबद्ध दलहरूले पालिकामा उम्मेदवारको टुंगो लगाउन थालेका छन् । नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानरको मेयरमा शान्ति अधिकारी र उपमेयरमा तीनजनाको नाम सिफारिस गरेको छ । माओवादीले कैलालीका अन्य पालिकामा पनि उम्मेदवार सिफारिस गरिरहेको छ ।
यस्तै एकीकृत समाजवादीले धनगढीको मेयरमा दुईजनाको नाम सिफारिस गरेको छ । कांग्रेसमा धनगढीको मेयरका आकांक्षीले नगर कमिटीमा दाबी गरिरहेका छन् । कांग्रेसमा वर्तमान मेयर नृपबहादुर वडसहित सातजनाले दाबी गरेका छन् । गठबन्धन हुँदा जित्न सहज हुने भएकाले प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा कांग्रेसभित्र मेयरको उम्मेदवार बन्न हानथाप छ । मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले कडा चुनौती दिने देखिएपछि कांग्रेस गठबन्धनको बलले चुनाव जित्ने दाउमा छ ।
अन्य जिल्लामा गठबन्धनमा आबद्ध दलहरूले उम्मेदवार छनाेटको प्रक्रिया अगाडि बढाएका छन् । अछाममा साँफेबगर नगरपालिका तथा चौरपाटी र रामारोशन गाउँपालिकाले तालमेल नगर्ने निर्णय गर्दै उम्मेदवार छनाेट अगाडि बढाएका छन् । अछाममा जिल्लामा गठबन्धनबीच वडा तहसम्मै तालमेल गर्ने सहमति भएको छ । बैतडीका केही तहमा भने छलफल सकारात्मक रूपमा अघि बढेको दलहरूले बताएका छन् ।
प्रदेशका ८८ तहमै गठबन्धनको प्रदेश संयन्त्रमा भागबन्डा गरेर जाने विषयमा पनि छलफल भइरहेको बताइएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले भने गठबन्धन सहमतिको नजिक रहेको दाबी गरे । ‘निर्वाचनमा कार्यगत एकता गरेर जानेमा सबै सहमत छौँ । कसले कति तह लिने भन्ने संख्यामा सबैको विमति छ,’ उनले भने, ‘घनीभूत छलफल भइरहेको छ, सहमतिको नजिक छौँ ।’