नेपाल टिन लिडर्सको तेस्रो ब्याचको ग्य्राजुयसन तथा चौथो ब्याचको स्वागत समारोह सम्पन्न भएको छ। दरबारमार्गस्थित एक होटेलमा शनिबार पूर्व उपप्रधानमन्त्री भीम रावलको प्रमुख आतिथ्यतामा ग्य्राजुयट भएकाहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री रावलले युवाहरूले राजनीतिलाई दोषारोपण मात्र गरेर नहुने बताए। राजनीतिमा खराब कुराहरू भएको र खराब कुरा सच्याउन टाउकोमा हात राखेर मात्र नहुने भन्दै उनले युवाहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए। आफू पाखामा बसेर अरूलाई दोष दिएर मात्र केही नहुने भन्दै उनले टिन लिडरलाई पछि अन्य क्षेत्रका लिडरको रूपमा आफूले देख्न चाहेको बताए।
हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीले आफूलाई एकेडेमिक पार्ट मात्र नभएर समग्र विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्ने बताए। विद्यार्थीको सिर्जनशीलता विकासका लागि कलेजहरूले गर्नुपर्ने यस्ता काम गरेकोमा उनले आयोजकको सराहना गरे।
यसैगरी युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले नेपाल टिन लिडर्ससँग अबका दिनहरूमा सहकार्य गरेर अघि बढ्ने र सामाजिक रूपान्तरणमा टिन लिडर्सलाई पनि साथ लिएर अघि बढ्ने बताए।
आयाेजक करियर पोइन्ट एजुकेसन सर्भिसेजका निर्देशक शिव दनैले कार्यक्रमको अध्यक्षता गरेका थिए। करियर पोइन्टका कार्यकारी निर्देशक तथा नेपाल टिन लिडर्सका सुरुवातकर्ता विशाल केसीले नेपाली प्राज्ञिक गृहले विद्यार्थीलाई राम्रो शिक्षा दिएर पनि समग्र विकासमा सहयोग गर्न नसकेको भन्दै टिन लिडर्सले विद्यार्थीलाई हराएको बिन्दुहरू जडान गर्न मद्दत गरिरहेको बताए। कार्यक्रममा गोल्यान ग्रुपका अध्यक्ष एवं एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान, टुर्किस एयरलाएन्सका महाप्रबन्धक अब्दुल्लाह तुनसन केसेसीलगायतको उपस्थिति रहेको थियो।