२९ अंकले घट्यो नेप्से

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २९ दशमलव ६० अंकले घटेर दुई हजार तीन सय ८५ दशमलव ६४ बिन्दुमा आइपुगेको छ । नेप्से सूचक पुनः दुई हजार चार सयको आधार बिन्दुबाट तल खसेको छ ।  कारोबारको सुरुवातदेखि नै बजारमा प्यानिक सेलिङ हुँदा बजार दबाबमा देखिन पुगेको थियो । बजार दुई हजार चार सयको मनोवैज्ञानिक बिन्दुबाटै खसेकाले लगानीकर्ता थप प्रेसरमा परेको ब्रोकर दिनेश शर्मा बिडारी बताउँछन् । ‘बजार निरन्तर घटिरहेकाले नयाँ लगानीकर्ता प्यानिक सेलिङ गर्दैै बाहिरिने अवस्था आएको छ, यसवेला धैर्य गर्नुको विकल्प छैन,’ उनले भने ।

कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । फाइनान्स समूह, जलविद्युत् समूह र होटेल तथा पर्यटन समूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् । लगानीगत समूह, जीवन बिमा समूह, उत्पादनमूलक समूहका सूचक १ प्रतिशतले घटेका छन् ।बजार घटेसँगै कारोबार रकम पनि सुस्त बनेको छ । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ कम्पनीको ३४ लाखभन्दा बढी कित्ता खरिद–बिक्री हुँदा एक अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंकको चार करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

हिमालयन ऊर्जा विकास कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । इमर्जिङ नेपालको ७ दशमलव ५८ प्रतिशतले घटेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशतले घटेको छ । यस दिन नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशतले बढेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव १२ अंकले घटेर चार सय ५० दशमलव ९७ बिन्दुमा पुगेको छ ।

सिवाइसी नेपाल लघुवित्तको आइपिओमा १४ लाख २८ हजारको आवेदन 
सिवाइसी नेपाल लघुवित्तको आइपिओमा १४ लाख २८ हजार चार सय ४२ जनाले एक करोड ६३ लाख ४४ हजार आठ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । आइतबार साँझ पाँच बजेसम्ममा एक अर्ब ६३ करोड ४४ लाख ८३ हजार रुपैयाँबराबरको आवेदन परेको छ । कम्पनीले वैशाख २ गतेबाट तीन करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबरको तीन लाख ९५ हजार तीन सय ३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् १९ हजार सात सय ६६ कित्ता सामूहिक लगानी कोष र शून्य दशमलव ५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी तीन लाख ६९ हजार चार सय ८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको थियो ।

See More On

सुझावित समाचार