कांग्रेसको केन्द्रीय कार्यालयको सर्कुलरविपरीत कांग्रेस पोखरा महानगर समितिले महानगरको मेयर र उपमेयरका आकांक्षीसँग पैसा उठाएको छ । कांग्रेस महानगर समितिले मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँका दरले र उपमेयरका आकांक्षीसँग २० हजारका दरले पैसा उठाएको हो ।
मेयरको उम्मेदवार बन्न चाहने १८ जनाको निवेदनसहित प्रतिव्यक्ति २५ हजारको दरले ४ लाख ५० हजार रुपैयाँ र उपमेयरको उम्मेदवार बन्न चाहने ८ जनासँग प्रतिव्यक्ति २० हजारका दरले १ लाख ६० हजार रुपैयाँ रकम जम्मा भएको कांग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए । उनका अनुसार उपमेयरका उम्मेदवार १० जना भए पनि दुईजनाले भने पार्टीमा योगदान दिएको र आफूहरूले पैसा दिन नसक्ने भन्दै दिएनन् ।
उम्मेदवार आकांक्षीसँग पैसा नलिन केन्द्रले जारी गरेको सर्कुलरबारे जिज्ञासा राख्दा महानगर सभापति बिजुक्छेले केन्द्रीय सर्कुलर नलिनु भन्ने भए पनि उम्मेदवार सीमित गर्न र पार्टी सञ्चालनमा सहयोग पुर्याउन थोरै रकम लिनुपरेको बताए । ‘पार्टीले सर्कुलर पठाएको पनि थियो । हामीलाई यो थाहा छ । तर, पार्टी सञ्चालनमा पनि सहयोग होस् र आकांक्षी पनि सीमित हुन् भनेर थोरै पैसा लिएका हौँ । नसक्नेले दिनुभएको छैन । उपमेयरको उम्मेदवारका लागि निवेदन दिनुभएका दुईजनाले हामीले पार्टी निर्माणमा योगदान गरेका छौँ । अहिले पैसा दिन्नौँ भन्नुभयो । हामीले ठीकै छ भन्यौँ, लिएनौँ ।’ उनले भने ।
बिजुक्छेले उठेको रकम महानगर समितिको कोषमा जम्मा भएको र त्यसबाट महानगर समितिका गतिविधि चलाइनुका साथै महानगरको भवन निर्माण गर्दा पनि खर्च गरिने बताए । ‘हामीले उठेको पैसा कोषमा राखेका छौँ । महानगर समितिकै काममा त्यो खर्च हुन्छ । हामीले महानगर समितिको भवन पनि बनाउने भनेका छौँ । त्यसमा पनि यो खर्च हुन्छ,’ उनले भने ।
क–कसले दिए निवेदन ?
मेयरका लागि निवेदन दिनेमा सुदीपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्ण केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बिन्दुकुमार थापा, गणेशबहादुर भट्टराई, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा रहेको बिजुक्छेले जानकारी दिए ।
उपमेयरमा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले निवेदन दिएका छन् ।