आलोचना सुन्नै सक्दैनन् पुटिन

पुटिनका यी आलोचक जो फेरि देखिएनन्

आइतबार, ४ बैशाख, २०७९
डिजिटल संस्करण

युक्रेनमाथि युद्ध थोपरेदेखि नै पुटिनको छवि एक युद्ध–उन्मादी, सनकी, विश्वशान्तिमा खलल पु¥याउने नेताको बनेको छ । युक्रेन युद्ध तन्किँदै जाँदा रुसले रणनीतिक आणविक अस्त्र प्रयोग गर्ने आशंकासमेत गर्न थालिएको छ । पुटिनको छवि विरोधीहरूलाई सिध्याउन जुनसुकै हदसम्म जान सक्ने नेताको रूपमा पनि स्थापित छ । उनी २२ वर्षदेखि रुसी शासनको केन्द्रमा छन् । यस अवधिमा पुटिनले देशबाहिर मात्र आक्रामक नीति लिएका छैनन्, उनी घरेलु आलोचकप्रति अझ कठोर मानिन्छन् । २० वर्षको अवधिमा पुटिनका कैयौँ आलोचक मारिएका छन् । अधिकांश आलोचकका हत्यारा कहिल्यै पत्तै लागेनन् । यसले उनीहरूको हत्यामा पुटिनको संलग्नतालाई बल मिलेको छ । 

पुटिनको उदय

भ्लादिमिर पुटिनले आफ्नो करिअरको सुरुवात जासुसी पेसाबाट गरेका थिए । सोभियत संघ बाह्य जासुसी संस्था केजिबीमा पुटिन लेफ्टिनेन्ट कोलोनेल पदसम्म पुगेका थिए । सोही समय सोभियत संघ विघटन भयो र बदलिएको राजनीतिक प्रणालीमा उनले जासुसी सेवाबाट राजीनामा दिएर राजनीतिमा लागे । सुरुमा उनका अधिकांश राजनीतिक संलग्नता शीर्ष रुसी नेताको सल्लाहकारका रूपमा रह्यो । मार्च १९९७ मा पुटिन तत्कालीन रुसी राष्ट्रपति बोरिस एल्तसिनको कार्यालयको स्टाफहरूको उपप्रमुखसम्म बने । राष्ट्रपति कार्यालयमा रहँदा पुटिनले देखाएको सक्रियता, क्षमता र कौशलबाट प्रभावित भएर एल्तसिनले पुटिनलाई पहिले प्रधानमन्त्री र पछि आफ्नो उत्ताराधिकारी चुने ।

भ्लादिमिर पुटिन सन् २००० मा राष्ट्रपति हँुदा कमैले मात्र उनको नाम सुनेका थिए । तर, उनका आर्थिक सुधार र सुरक्षा मजबुतीले रुसी जनताको मन जित्यो । सोभियत संघको पतनपछिको पहिलो एक दशक रुसी महासंघका लागि निकै कष्टकर थियो । साम्यवादी शासन प्रणालीअन्तर्गत निर्माण भएका उद्योग तथा संस्थानहरू फेरिएको प्रणालीमा अनुकूलन हुन नसक्दा धराशयी भए । जसका कारण अधिकांश उद्योगधन्दा बन्द भए । बेरोजगारी ह्वात्तै बढ्यो । सँगै गरिबी दर पनि बढ्यो । यस कठिन आर्थिक स्थिति जनताका लागि पीडादायी बनाउने गरी विगतमा सोभियतकालमा राज्यले जनतालाई दिने बृहत्तर सामाजिक सुरक्षा व्यवस्था खलबलियो । यो स्थितिमा देशभर चोरी, लुटपाट, अपराध र वेश्यावृत्ति बढेको थियो । त्यसमाथि देशको दक्षिण भेगमा रहेको चेचेन्यामा फैलिएको पृथकतावादी विद्रोहीले क्रेमलिनमाथि दबाब सिर्जना गर्न मस्कोलगायत अरू सहरमा हिंसा मच्चाइरहेका थिए । यी सब सम्हाल्ने प्रयासमा लगातार असफल भएपछि बोरिस एल्तसिनले सक्षम ठानेर पुटिनलाई सत्ता सुम्पिएका थिए । 

शासनमा आएपछि पुटिनले पहिले सुरक्षा स्थिति मजबुत बनाए । हिंसा बढाउने माफियाहरूविरुद्ध कारबाही सुरु भयो । चेचेन पृथकतावादी आन्दोलनलाई दबाए । उनले सुरु गरेको आर्थिक सुधारका कारण रुसी अर्थतन्त्रमा तीव्र दरमा वृद्धि हुन थाल्यो । यसले मतदातामाझ पुटिनको लोकप्रियता झन्–झन् बढ्यो । यही बलियो जनाधार र रुसको कमजोर संस्थानहरूको फाइदा उठाएर उनले आफूमै शक्ति केन्द्रित गर्दै लगे । उनले आलोचकहरूमाथि धरपकड बढाए । यही रहस्यमयी तरिकाले मरेका पुटिनका आलोचकमध्ये केही चर्चित व्यक्तिको चर्चा यहाँ गरिएको छ :

पुटिन सत्तामा आउनसाथ उनले उत्तरी ककेसस क्षेत्रको स्वतन्त्रता घोषणा गरेको चेचेन्याको पृथकतावादी सरकारविरुद्ध युद्ध घोषणा गरे । रुसले दोस्रो चेचेन आक्रमण गर्नुअघि सन् १९९९ मा रुसका विभिन्न अपार्टमेन्टमा बम आक्रमण भएको थियो । करिब तीन सयजनाको ज्यान गएको यस घटना चेचेन पृथकतावादीहरूले घटाएको आरोपपछि आम जनतामा पृथकतावादीविरुद्धको कारबाहीप्रति समर्थन उर्लिएको थियो । सन् १९९४ देखि सन् १९९६ बीच पहिलो चेचेन युद्धमा रुस पराजित भएको थियो । त्यसकारण सन् १९९९ मा रुसले ठूलो तयारीसाथ चेचेन्यामा आक्रमण गरेको थियो । 

तर, रुसी राजनीतिज्ञ सर्गेई युसेन्को र पत्रकार एन्ना पोलिट्कोभ्स्कायाले सन् १९९९ को विभिन्न बम आक्रमण रुसी जासुसी संस्था आफैँले गराएको आरोप लगाइरहेका थिए । चेचेन युद्धप्रति आम जनसमर्थन हासिल गर्न ती आक्रमण सुनियोजित रूपमा गरेको तिनको आरोप थियो । र, यसमा पुटिनको संलग्नता रहेको पनि अरोप थियो । ती आरोप लगाउने दुवैजना दुई वर्षको फरकमा मारिए । 

यस्तै, चेचेन युद्धमा रुसी फौजबाट भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाबारे गम्भीर खोज गरेकी अर्की पत्रकार नतालिया एस्तेमिरोभा पनि सन् २००९ जुलाईमा मारिइन् । उनको खोजले रुसी फौजले चेचेन युद्धमा ठूलो संख्यामा सर्वसाधारण अपहरण गरेको, यातना दिएको र मारेको देखायो । कैयौँ मानिस सेनाको नियन्त्रणबाटै बेपत्ता भएका रिपोर्टले धेरैको ध्यान तानेको थियो । यस्ता रिपोर्ट लेखेबापत उनले बारम्बार धम्की पाइरहेकी थिइन् । अन्ततः उनी आफ्नै घरबाहिरबाट अपहरणमा परेकी थिइन् । पछि टाउकोमा गोली लागेको अवस्थामा नजिकै जंगलमा उनको शव फेला परेको थियो । 

बेरेजोभ्स्की सन् ९० को दशकमा राष्ट्रपति एल्तसिननजिकका अर्बपति थिए । पुटिनको उदयमा उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । विशेषतः पुटिनका प्रतिद्वन्द्वी नेम्त्सोभविरुद्ध मिडिया अभियानमा उनले सघाएका थिए । तर, कालान्तरमा बेरेजोभ्स्की र पुटिनबीच मतभेद सिर्जना भयो र बेरेजोभ्स्की बेलायत भागे । बेलायतबाट पनि उनले पुटिनको आलोचना गरिरहे । एक समय बेरेजोभ्स्कीले पुटिनलाई बलपूवर्क सत्ताच्यूत गर्न सहयोग गर्ने धम्की दिएका थिए । तर, मार्च २०१३ मा बेरेजोभ्स्की बेलायतस्थिति आफ्नै निवासमा मृत फेला परे । उनको शव बन्द बाथरुमभित्र घाँटी कस्सिएको अवस्थामा फेला परेको थियो । सुरुमा आत्महत्या भनिएको उनको मृत्यु अनुसन्धानबाट शंस्कास्पद देखियो । 

सन् ९० को दशकमा बोरिस नेम्त्सोभ सबैभन्दा लोकप्रिय युवा नेता थिए । केहीले नेम्त्सोभलाई एल्तसिनको उत्तराधिकारीका रूपमा हेरेका थिए । छोटो समयका लागि सहायक प्रधानमन्त्री पनि बने । सन् २००० मा एल्सिनले पुटिनलाई उत्तराधिकार तोके । यस निर्णयलाई नेम्त्सोभले सार्वजनिक रूपमै स्वागत गरेका थिए । तर, समयक्रममा दुई नेताबीच फाटो बढ्न थाल्यो । सन् २०११ को संसदीय निर्वाचनमा धाँधली गरेर पुटिनको पार्टीले धेरै मत ल्याएको भन्दै नेम्त्सोभले आन्दोलनको घोषणा गरे । देशभरका सहरमा ठुल्ठूला सडक ¥याली भए । उनले सरकारको भ्रष्टाचारबारे रिपोर्टहरू सार्वजनिक गरिरहेका थिए ।

नेम्त्सोभ भ्लादिमिर पुटिनलाई टक्कर दिन सक्ने सबैभन्दा प्रभावशाली रुसी नेता बनेका थिए । तर, फेब्रुअरी २०१५ मा सर्वसाधारणलाई युक्रेनमाथिको रुसी सैन्य हस्तक्षेपको विरोधमा सडकमा उत्रन आह्वान गरेको केही घन्टापछि क्रेमलिनबाट केही मिटर टाढा नेम्त्सोभलाई अज्ञात आक्रमणकारीले ढाडमा चार गोली हानेर मारे । उनको हत्याको अनुसन्धानका लागि गठन भएको अनुसन्धानको नेतृत्व पुटिनले आफ्नै रेखदेखमा गरेको भए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । 

सुझावित समाचार