भारतका केही स्थानमा कोभिड संक्रमण पुनः बढ्न थालेको छ । नोयडा र गाजियाबादको विद्यालयका धेरै विद्यार्थीमा कोभिड संक्रमण देखिएसँगै भारतमा चौथो लहरको संकेतका रूपमा लिन सकिने विज्ञहरूले बताएका छन् । यद्यपि, भारतमा पछिल्लो साताको तुलनामा संक्रमण बढे पनि देशभर दैनिक संक्रमण अझैसम्म स्थिर छ ।
भारतको स्वास्थ्य मन्त्रालयको विवरणअनुसार देशभर शनिबार नौ सय ७५ जना संक्रमित थपिएका छन् । तर, दिल्लीलगायतका केही क्षेत्रमा भने संक्रमण दर बढेको छ । दिल्लीमा गत २४ घन्टामा मात्रै तीन सय ६६ मा संक्रमण देखिएको छ । दिल्लीमा कोभिड संक्रमण दर ०.५ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ । संक्रमण बढेसँगै विज्ञहरूले भारतमा जुन र जुलाई महिनामा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने आकलन गरेका छन् । यद्यपि, बुस्टर डोजसमेत प्रयोगमा आइसकेका कारण संक्रमण गम्भीर नहुने विज्ञहरू बताउँछन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भारतमा नयाँ भेरियन्टका कारण संक्रमण बढेमा मात्र नेपालले डराउनुपर्ने अवस्था रहेको बताउँछन् । ‘पछिल्लो समय भारतमा बिए २ संक्रमण देखिएको छ । नेपालमा यसअघि नै बिए २ फैलिइसकेका कारण तत्काल नेपालमा असर नपर्ने अनुमान गर्न सकिन्छ । तर, भ्याक्सिन नलगाएका र लक्षित समूहमा भने सधैँ ख्याल राख्न आवश्यक नै छ,’ उनले भने ।