विश्व क्रिकेटका महारथि अस्ट्रेलियन क्रिकेटर स्वर्गीय सेन वार्नको सम्झनामा आयोजना गरिएको प्रो–क्लब च्याम्पियनसीपको उपाधि रुपन्देही–११ ले हात पारेको छ। जोरा इन्टरनेसनल प्रालिको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली रुपन्देही–११ ले मलेसिया–११ लाई ७ विकेटले हराउँदै उपाधि हात पारेको हो।
टस जितेर रुपन्देहीले मलेसिया–११ लाई ब्यटिङको निम्तो दिएको थियो। मलेसिया–११ ले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। प्रतियोगितामा मलेसियाका लागि नजरिल रहमानले २२ बलमा चार चौका र दुई छक्का हान्दै ३६ रन बनाए। अर्का खेलाडी जुबैदी जुल्किफ्लेले १६ बलमा चार चौका र एक छक्कासहित २६ रन जोडे।
बलिङमा केही कमजोर देखिएको रुपन्देहीेका वसिर अहमदले चार ओभरमा ३२ रन खर्चिएर दुई विकेट लिएका थिए। यस्तै कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुसाल र विशाल विक्रम केसीले समान १/१ विकेट लिए।
१४१ रनको लक्ष्य पाएको रुपन्देही–११ ले सुरुवातदेखि नै दबाबमा राखेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा समेत मलेसियालाई फराकिलो अन्तरले हराएकाले रुपन्देही जित्ने मनोबलका साथ मैदानमा छिरेको थियो। पहिलो ओभरमा १४ रन बनाएको रुपन्देहीले दोस्राे ओभरमा देव खनाललाई गुमायो। २२ रनको योगफलमा पहिलो विकेट गुमाएको रुपन्देहीले दोस्राे विकेट १३४ रन पुग्दा गुमायो। प्रतियोगितामा रुपन्देहीका प्रज्वल थापाले अर्धशतकीय पारी खेलेका थिए। उनले ६१ बल खेल्दै आठ चौका र दुई छक्काको सहयोगमा ७१ रन बनाए। यस्तै सन्दीप रजालीले ४१ रन बनाए।
बलिङतर्फ मलेसियाका मोहम्मद वकिफ, शैयद अजिज र शरविन मुनिन्दीले १/१ विकेट लिए। फाइनल खेलमा ७१ रन बनाएका प्रज्वल थापा म्यान अफ द फाइनल घोषित भए। प्रतियोगितामा ११९ रन बनाएका तथा १० विकेट लिएका बसिर अहमद म्यान अफ द सिरिज घोषित भए।
उपाधिसँगै रुपन्देही–११ ले नगद दुई लाख ५० हजार, दोस्राे हुँदै मलेसियाले एक लाख, तेस्राे युपी–११ ले ५० हजार र चौथो हुँदै नेपाली सेनाले २५ हजार पुरस्कार प्राप्त रेका रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए।
चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी थिए।