नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ । पछिल्लो समय सरकारले दक्षिण सुडान र बेलिजसँग दौत्य सम्बन्ध कायम गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार सरकारले गत २९ मार्चमा दक्षिण सुडानसँग र २ अप्रिलमा बेलिजसँग दौत्य सम्बन्ध कायम गरेको हो । योसँगै नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने राष्ट्रको संख्या एक सय ७६ पुगेको छ ।
प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएको प्रस्तावहरूमाथि सरकारले महत्वका आधारमा भोट गरेको जानकारी दिइन् । उनले नेपालले राष्ट्र संघमा भएका मतदानमा चारपटक युक्रेनको पक्षमा मतदान गरेको बताइन् । ‘अहिले युएनमा इमर्जेन्सी स्पेसल सेसन चलिरहेको छ । त्यसमा विभिन्न विषयमा छलफल भइरहेको छ । त्यसमा नेपालले आफ्नो मत–अभिमत, आफ्नो धारणा, ‘कन्ट्रीको पोजिसन’, मन्तव्य, वक्तव्य सबै जारी गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘विभिन्न सवालमा हामीले मेरिटको आधारमा आफ्नो मतलाई जाहेर गर्दै आएका छौँ । महत्वका आधारमा चारवटा ठाउँमा हामीले युक्रेनको पक्षमा भोट गरेका छौँ ।’
प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने बताइन् ।