समृद्धि र स्थिरताका लागि कांग्रेसले मत माग्नेछ : प्रदीप पौडेल

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसले स्थिरता र समृद्धिका लागि जनतासँग मत माग्ने बताएका छन् । कांग्रेसको स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’को समापन कार्यक्रममा स्याङ्जाको दरौँ सिरुबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । 

‘यसपटकको निर्वाचनमा कांग्रेसले स्पष्ट दृष्टिकाेणसहित स्थिरता र समृद्धिका लागि मत माग्नेछ । हामी स्थानीय तह र पार्टीको केन्द्रबाट घोषणापत्र पनि जारी गर्नेछौँ, घोषणापत्रमा लेख्ने मात्रै होइन, लेखेका विषय कार्यान्वयन गर्ने गरी कार्यक्रमहरू ल्याउनेछौँ,’ नेता पौडेलले भने । उनले पाँचदलीय गठबन्धनलाई सबै पार्टीहरू मिलेर स्वाभाविक र प्राकृतिक ढंगले अगाडि बढाइने बताए । जनतालाई झुक्याउनका लागि नभई कार्यान्वयन गर्ने गरी घोषणापत्रमा कार्यक्रमहरू समावेश गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले जनतालाई झुक्याउने होइन, कार्यान्वयन गर्ने गरी घोषणापत्र ल्याउनुपर्छ,’ उनले भने, ‘गठबन्धन अप्राकृतिक हुनेछैन । प्राकृतिक र स्वाभाविक ढंगले गठबन्धन अगाडि बढाइनेछ ।’ 

०७४ सालको संघीय निर्वाचनमा वामगठबन्धनले स्थिरताका लागि जनतासँग मत मागे पनि नेकपाले राजनीतिक स्थिरता दिन नसकेको उनको तर्क थियो । नेता पौडेलले निर्वाचनलक्षित पहिलो चरणको कार्यक्रम सकिए पनि अब दोस्रो चरणको अभियान झन् प्रभावकारी ढंगबाट सुरु हुने बताए । नयाँ वर्षको अवसरमा वडा तहका नेता तथा कार्यकर्ता हरेक जनताका घरमा गएर नयाँ वर्षको शुभकामना दिने र समृद्धि र स्थिरताका लागि कांग्रेसलाई मत माग्नुपर्ने उनले बताए । 
 

सुझावित समाचार