ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अस्ट्रियाकी राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको भेटमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा विचार विमर्श गरिएको छ।
भेटमा ऊर्जामन्त्री भुसालले पाटन संग्रहालय र केसरमहलस्थित बगैँचाको जीर्णोद्धारमा अस्ट्रियाले पुर्याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन्। उनले वातावरण र सांस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अस्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन्। उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।
मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउन अस्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरिन्। नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन्।
सो अवसरमा राजदूत वाइजरले अस्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगामी दिनमा जलविद्युतकाे क्षेत्रमा सहकार्य गर्न सकिने बताइन्। उनले आफ्नो देशमा ६० प्रतिशत जलविद्युत् र बाँकी सौर्य एवं बायोमास प्रयोग हुँदै आएको जानकारी गराइन्।
भेटमा ऊर्जासचिव देवेन्द्र कार्की तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो। नेपाल र अस्ट्रियाबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। रासस