स्थानीय भन्छन्– दलका नेताहरू चुनावका वेला भोेट माग्न आउँछन्, जितेर गएपछि अनुहार देखाउँदैनन्
बाजुराको साविक साप्पाटा गाउँ विकास समिति–९ को नाम ०५८ वैशाखअघिसम्म ‘डुमकोट’ थियो । तर, माओवादी सशस्त्र युद्धका वेला डुमकोटको नाम परिवर्तन गरी ‘मुक्तिकोट’ बनाइयो । सरकारी अभिलेखमा भने यो गाउँको नाम अहिले पनि डुमकोट नै छ ।
दलित मुक्तिका कार्यकर्ता आएर डुमकोटबाट मुक्तिकोट नाम परिवर्तन गरेको स्थानीय बाँचबहादुर विक बताउँछन् । ‘बुढापाकाहरूलाई घर कता हो भचेर सोध्दा अझै पनि डुमकोट नै भन्ने गरेका छन्,’ उनले भने । माओवादीले गाउँको नाम फेरेसँगै नागरिकका अवस्था पनि फेर्ने सपना देखाए । तर, डुमकोटलाई मुक्तिकोटमा बदल्ने माओवादी सरकारमा पुगे पनि यहाँका नागरिकको दुःख–कष्ट भने उस्तै छ ।
डुमकोटका युवा मुक्तिको सपना पूरा गर्न जनयुद्धमा समेत होमिए । यसैक्रममा कालिकोटको थिर्पुमा तत्कालीन शाही सेनाको गोली लागेर २० वर्षीय ओब्ज विकको मृत्यु भयो । जनयुद्धमै हिँडेका २५ वर्षीय हरि विक बेपत्ताको सूचीमा छन् । अर्का १७ वर्षीय पान्जन विकको अहिलेसम्म अत्तोपत्तो छैन । ०६४ को सविधानसभाको निर्वाचनपछि बाजुराको मुक्तिकोट गाउँमा माओवादीको संख्या पातलिँदै गएको हो ।
स्वामीकार्तिक खापर गाउँपालिका–१ को मुक्तिकोटवासीका मत पाएर एमाले नेता हिक्मतबहादुर शाही, कर्णबहादुर थापा, लालबहादुर थापा संघीय सांसद बने । कर्ण थापा मन्त्रीसमेत भए । प्रकाश शाह र बलदेव रेग्मी प्रदेश सभा सदस्य भए । शाह करिब चार वर्ष सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्रीसमेत बने ।
कांग्रेसबाट दुईपटक प्रतिनिधिसभामा पुगेका देवराज जोशी अहिले सुदूरपश्चिम प्रदेश प्रमुख छन् । कांग्रेसबाटै प्रतिनिधिसभामा पुगेका जनकराज गिरी भूमिसुधार राज्यमन्त्रीसमेत भए । माओवादीका कर्णबहादुर विक र डबल शाह संविधानसभा सदस्य भए । विक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री पनि भए । आफूले मत दिएका नेता पदमा पुगेपछि आफ्ना समस्या समाधान होला भन्ने सोचेका मुक्तिकोटवासीले नेताहरूको अनुहार पनि देख्न पाएका छैनन् । ‘अब चुनावका वेला भोट माग्न सबै आउँछन् । चुनाव सकिएपछि कसैले मुख देखाउँदैनन्,’ स्थानीय छडा विकले भनिन् ।
मुक्तिकोटमा चरम खाद्य संकट
मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना ०६८ को प्रतिवेदनमा बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ को मुक्तिकोटमा खाद्यवस्तुको चरम संकट छ । गाउँमै उत्पादन हुने अन्नवाली एक महिनासम्म पुग्दैन । यहाँका अधिकांश महिला, पुरुष, बालबालिका भारतमा मजदुरीमा जाने गरेका छन् । साविकको साप्पाटा गाविस–९ मा पर्ने गैरा, मेला, नाउला, खोली, चुइँकेडाँडा, माझवाडा, खोलासा, भैइसाखाली, काडेडिल, मुक्तिकोट र रल्क्या टोलमा तीन सय ९४ बढी परिवार दलित समुदायको बसोवास छ । खेतीयोग्य जमिन नभएकाले स्थानीय भारतको मजदुरीमा भर परेका हुन् । बर्सेनि ५÷६ सय नागरिक भारतमा मजदुरीका लागि जाने गरेको बाँचबहादुर विकको भनाइ छ ।
२० वर्ष नपुग्दै दुई सन्तानका आमा
स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी देवीसरा विक २० वर्षकी भइन् । यो उमेरमै उनी दुई सन्तानकी आमा बनेकी छन् । कक्षा ८ मा अध्ययन गर्दागर्दै विवाह बन्धनमा बाँधिएकी उनले वर्ष बिराएर सन्तानलाई जन्म दिएकी हुन् ।
सुनिता कामी पनि २० वर्षको उमेरमा दुई सन्तानकी आमा बनेकी छन् । सानै उमेरमा विवाह गाउँमा सामान्यजस्तै मानिन्छ । २२ वर्षीया रमिता विककी छोरीको जन्मेको पाँच दिन नबित्दै गत १५ फागुनमा मृत्यु भयो । उनले गुमाएको यो दोस्रो सन्तान हो । २३ माघमा २४ वर्षीया दुमली विकले १२ दिनको छोरा गुमाइन् । उनले गत वर्ष मंसिरमा तीन महिने छोरी गुमाएकी थिइन् ।
कुपोषणको चपेटामा गाउँ
स्वामिकार्तिक खापर गाउँपालिकाका–१ मुक्तिकोटका अधिकांश बालबालिका कुपोषणको सिकार भएका छन् । सुत्केरी आमालाई सुविधा दिने क्रममा चेकजाँच गर्दा अधिकांश बालबालिकामा कुपोषण देखिएको आधाभूत इकाइ खोलीकोटका अहेव उमेशबहादुर शाहीले जानकारी दिए । ८४ बालबालिकामा चेकजाँच गर्दा २० जना अतिजोखिम र १० देखि १५ बालबालिका जोखिममा रहेको उनले बताए । ६ देखि आठजना बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको उनको भनाइ छ । ‘अधिकांश किशोरीहरूले एक वर्षको अन्तरालमा बच्चा जन्माउने गरेका छन्,’ शाहीले भने ।
गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही भन्छन् : स्थानीय सरकार आएपछि धेरै परिवर्तन भएको छ
स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने स्थानीय सरकार आइसकेपछि थुप्रै परिवर्तन भएको दाबी गरे । सुक्खा ठाउँ, पहिरोको जोखिम, छरिएर रहेको बस्तीका कारण भनेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ । मुक्तिकोट गाउँ बस्ती स्थानान्तरण गरेपछि मात्रै स्थानीयले मुक्ति पाउने शाहीले बताए । ‘केही नभएको भन्ने होइन । सडक, खानेपानी, स्वास्थ्य चौकी हामी आएपछि बनाएका हौँ । आवश्यक पर्दा अन्य सबै खालका सहयोग गरेका छौँ,’ उनले भने, ‘त्यो गाउँ खडेरीको चपेटामा छ । पहिरो छ । उब्जाउ जमिन छैन । जनसंख्या बढ्दै गएकाले अब घर बनाउन पनि ठाउँ नपुग्ने अवस्था छ । बस्ती स्थानान्तरणको विकल्प देखेको छैन ।’