डाला–नाङ्ला र काठका भाँडाले बजार पाउन छाडे

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण
डाला–नाङ्ला र काठका भाँडाले बजार पाउन छाडे

बाग्लुङको चैतेदसैँ मेलामा बिक्रीका लागि राखिएका ठेका–ठेकी र डाला–नाङ्ला । तस्बिर : नारायण/नयाँ पत्रिका

बाग्लुङको बडिगाड गाउँपालिका–५, सिमाकका यामबहादुर रास्कोटी मगर चुवाको डाला–नाङ्ला बिक्रीका लागि बाग्लुङ सदरमुकाम आएका छन् । स्थानीय चैतेदसैँ मेलामा चुवाबाट बनेका डाला, डाली र नाङ्ला लिएर उनी बिक्रीका लागि उनी बाग्लुङ आएका हुन् । कुनै समय स्थानीय उत्पादनको मुख्य व्यापार हुने चैत्राष्टमी मेलामा अहिले स्थानीय वस्तुले बजार पाउन छाडेको छ । प्लास्टिकको भाडाहरूको बड्दो प्रयोगसँगै स्थानीय उत्पादनले बजार पाउन छाडेको हो ।

झन्डै ५० देखि ६० वटासम्म डाला र नाङ्ला लिएर आएका रास्कोटीको व्यापार सोचेजस्तो नभएको उनले बताए । ‘धेरै परिश्रम गरेर स्थानीय वस्तुको उत्पादन गर्यो, परिश्रमअनुसारको मूल्य निर्धारण गर्नु नै पर्यो,’ उनले भने, ‘हामीले उत्पादन गरेको वस्तु किन्नका लागि हिचकिच गर्छन् । पुर्खौँदेखि गर्दै आएको पेसा नै संकटमा पर्न लागेको छ ।’ 

बाग्लुङको चैतेदसैँ मेलामा परम्परागत वस्तुहरूको बिक्री–वितरण हुने भन्ने थाहा पाएर आए पनि व्यापार नभएको बडिगाड गाउँपालिका–४, जलजलाका बुद्धिराम विकले बताए । उनी भन्छन्, ‘दुःख गरेर पनि कमाइ राम्रो हुन सकेको छैन ।’ अब पेसा नै अर्को रोज्नुपर्लाजस्तो भएको छ ।’ झन्डै २० वटा नाङ्ला, डालाडाली ल्याएर मेलामा आएका थिए, तर सोचेअनुसार बिक्री भएन । फिर्ता लिएर जाने कि सस्तो मूल्यमा छाड्ने दोधारमा रहेका छन् । 

प्लास्टिकका भाँडाले स्थानीय उत्पादन विस्थापित 
बडिगाडका यामबहादुर र बुद्धिराम मात्र होइन, बाग्लुङ नगरपालिका–१२, अमलाचौरका टेके चुँदारा पनि आफ्नो पेसा संकटमा पर्दै गएकोमा चिन्तित छन् । परम्परागत काठका ठेकी  बनाउने पेसा अँगाल्दै आएका चुँदाराले बनाएका भाँडाहरू बिक्री हुन छाडेपछि उनलाई परिवार धान्न मुस्किल पर्न थालेको छ । ‘काठको भाँडा बनाउन ठूलो मिहिनेत लाग्छ, तर बजारमा डेढ–दुई सयमा प्लास्टिकका भाँडा पाइन्छ । महँगो पैसा तिरेर हाम्रो भाँडो कसले किनिदियोस्,’ चुँदाराले भने, ‘मिहिनेतअनुसारको आम्दानी नहुने भएकाले पुख्र्यौली पेसा छाड्न बाध्य हुनुपरेको छ ।’ 

 सस्तो मूल्यमा प्लास्टिकको भाँडा उपलब्ध हुन थालेपछि चुँदाराले मिहिनेत गरेर बनाएका काठका ठेका–भाँडा प्रयोग कम हुन थालेको छ । ‘पहिलेकोजस्तो छैन समय फेरियो, अब यसरी हामीले बनाएका भाँडाहरू बिक्री हुन छाडिसके,’ चुँदारा भन्छन्, ‘हामीलाई त समस्या पर्ने भयो ।’ काठलाई कुँदेर दूध, दही, मोही राख्न मिल्ने ठेका–भाँडा र अन्नपात राख्न मिल्ने आरी निर्माण गर्दै आएका चुँदाराले आफ्नो पेसा अप्ठ्यारोमा परेको बताए । 

उमेरले ५५ पुग्न आँटेका उनी आफूले निर्माण गरेर काठका भाँडा बिक्री गर्न बाग्लुङ, पर्वत, म्याग्दी र गुल्मीका विभिन्न गाउँ चहार्ने गरेका छन् । गाउँघरमा गाईभैँसी पाल्ने क्रम घटेसँगै आफ्नो पेसा पनि बिस्तारै संकटमा परेको उनको अनुभव छ । ‘अरू काठ बलियो हुँदैन, गिथे खोज्दै गुल्मीलगायतका अन्य जिल्लामा पुग्ने गरेका छौँ,’ उनले भने, ‘भाँडा बनाएपछि बेच्नका लागि पनि उत्तिकै गाउँ डुल्नुपर्छ ।’ पाँच मुठीदेखि तीन पाथीसम्म अटाउने क्षमताका काठका भाँडालाई न्यूनतमा पाँच सयदेखि ३० हजारसम्म मूल्य पर्छ ।
 
पुस्तान्तरण हुन नसक्दा  पेसा नै संकटमा
आफ्नो दैनिकी चलाउनै मुस्किल पर्न थालेपछि चुँदाराहरू बिस्तारै पेसा छोड्दै जान थालेको उनी बताउँछन् । ‘एक दर्जन परिवार यही पेसा अँगालेर बसेका थियौँ, अहिले कोही विदेश त, कोही अन्य पेसामा आश्रित भए,’ उनले भने, ‘अहिले हामी एक–दुई घर मात्र यो पेसामा बाँकी छौँ ।’ आफूहरूले पुर्खौँदेखि बनाउँदै आएका काठका भाँडाहरू नयाँ पुस्तान्तरण पनि हुन नसक्दा पेसा नै संकटमा परेको उनी बताउँछन् । 

‘नयाँ पुस्ताले यो काम गर्दैनन्, पहिलेदेखि नै गर्दै आएको हामीले धानेका छौँ,’ उनले भने ।  माटोका भाँडा बनाएर जीविकोपार्जन गर्ने कुमाले, तामाका भाँडा बनाउने टमटा, दूध–दही राख्ने काठका ठेकी बनाउने चुँदारा र सुल्पा बनाएर छाक टार्ने जोहो गर्दै आएका गन्धर्वको पुख्र्यौली पेसाले उचित अवसर नपाउँदा परम्परागत पेसाहरू हराउँदै गएका छन् । मेलाका लागि बिक्रीमा राखिएको स्थानको नगरपालिकाले राजस्व संकलन गरेकोप्रति उनीहरूको गुनासो रहेको छ । चैत्राष्टमी मेला प्रांगणमा राखिएको अन्य स्थलको राजस्व संकलन गरे पनि परम्परागत वस्तुहरूको संरक्षण र प्रवद्र्धनका लागि उचित व्यवस्थापन हुन जरुर रहेको व्यवसायी बताउँछन् । 

सुझावित समाचार