रोका बाथरुम प्रोडक्ट्स प्रालिले नेपालमा आठवटा नयाँ सोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरू काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउने उद्देश्यले नयाँ सोरुमको विस्तार गरेको हो ।
कम्पनीले रोका बाथरुम प्रोडक्ट्सका प्रबन्ध निर्देशक केई रंगनाथन नेपाल भ्रमणमा आएको अवसर पारेर आठवटा नयाँ सोरुम, पाँचवटा ब्रान्ड प्यारिवेयर र तीनवटा ब्रान्ड रोकाको उद्घाटन गरेको जनाएको छ । ब्रान्ड प्यारिवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशते बजार हिस्सा ओगटिसकेको कम्पनीको दाबी छ । युरोपेली ब्रान्ड रोका संसारका एक सय ८० भन्दा बढी देशहरूमा अवस्थित रहेको जनाइएको छ ।
रोका बाथरुम प्रोडक्ट्सको नेपालमा पनि उच्च बजार हिस्सा रहेको कम्पनीले जनाएको छ । कम्पनीका लक्जरी ब्रान्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा रहेको जनाइएको छ ।
सोरुमको उद्घाटनपछि कम्पनीका प्रबन्ध निर्देशक रंगनाथनले बजारमा पहुँच विस्तार गर्न खुद्रा उपस्थितिलाई सुदृढ गर्दै जाने बताए । ग्राहकका लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै आफ्ना फरक उत्पादन, सेवा र आश्वासनहरूका साथ नयाँ बजारमा प्रवेश गर्ने उनको भनाइ थियो ।
रोका ब्रान्डका नेपालमा १५ भन्दा बढी हाई एन्ड सोरुम रहेको र यिनले उच्चस्तरका ग्राहकहरू र आर्किटेक्टलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने जनाइएको छ । रोका प्यारिवेयरले नेपालभर १८ होटेल ल्यान्डमार्क परियोजनामा सक्रिय रूपमा काम गरिरहेको जनाएको छ ।