सिराहाको मिर्चैयामा अवैध काठसहित वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

सामुदायिक वनको संरक्षणको विशेष जिम्मेवारी बहन गर्नुपर्ने वन उपभोक्ता समूहका अध्यक्ष सिराहाको मिर्चैयाबाट अवैध काठसहित पक्राउ परेका छन् । सिराहाको मिर्चैया नगरपालिका ७ स्थित हरियोडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टीकाराम पोखरेल अवैध काठसहित पक्राउ परेका हुन् । 

पोखरेल स्वयंले तीनवटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स. १ त ३६०७ नम्बरको ट्याक्टर चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा मिर्चैयास्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले नियन्त्रणमा लिएको हो । अवैध काठसहित पक्राउ गएिका पोखरेललाई आवश्यक कारबाहीका लागि लहानस्थित डिभिजन वन कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

डिभिजन वन कार्यालयका निमित्त प्रमुख गंगाप्रसद यादवले ट्याक्टर, काठसहित अध्यक्ष पोखरेललाई पनि जिम्मामा लिइएको बताए । निमित्त प्रमुख यादवका अनुसार नियन्त्रणमा लिइएको काठ अहिलेसम्म नाप नभएकाले कति हो भन्ने यकिन भएको छैन । 

पक्राउ परेका पोखरेललाई मुद्दा चलाउन आवश्यक अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट सोमबार नै म्याद थप गरिएको निमित्त प्रमुख यादवले बताए ।

सुझावित समाचार