लमजुङमा जिल्लाभरका बालबालिकाहरूको भेलाले जिल्ला बाल सञ्जाल गठन गरेको छ । दोर्दी गाउँपालिकाको कलिम मिया अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला बाल सञ्जाल लमजुङ गठन भएको हो । बाल सञ्जालको अध्यक्षका लागि भएको गोलाप्रथाबाट मिया अध्यक्षमा निर्वाचित भएका हुन् ।
बाल सञ्जालको उपाध्यक्षमा क्व्होंलासोंथर गाउँपालिकाका सुस्मिता विक, सचिवमा सुन्दरबजार नगरपालिकाका सुगम गौली, कोषाध्यक्षमा बेँसीसहरका मनीषा सुनार र सहसचिवमा मध्यनेपाल नगरपालिकाको ओजस्वी रिमाल चयन भएका छन् ।
सदस्यहरूमा आठवटा स्थानीय तहबाट एक–एकजना प्रतिनिधित्व हुने गरी आरती घिमिरे, सुरज सुनार, विपना तामाङ, सृष्टिका पाण्डे, सुजिका नेपाली, रविन तिवारी, मालिस्का गुरुङ र गौतम विक चयन भएका छन् । सामाजिक विकास कार्यालयको आयोजनामा भएको भेलामा जिल्लाका आठ स्थानीय तहबाट पाँच–पाँचजनाका दरले प्रतिनिधिमूलक हिसाबमा बालबालिका भेलामा सहभागी भएका थिए ।
आठ स्थानीय तहबाट जम्मा भएका बालबालिकालाई आवश्यक अभिमुखीकरणपछि जिल्ला बाल सञ्जाल गठन गरिएको सामाजिक कार्यालय लमजुङका प्रमुख दिनेश पौडेलले बताए । बाल सञ्जालले स्थानीय तहमा बालमैत्री विकासका बहस पैरवी र सहभागिता, बाल अधिकारको रक्षा र प्रचारप्रसारका काम गर्ने पौडेलको भनाइ थियो ।
सामाजिक विकास कार्यालयले बाल सञ्जालको अभिभावकत्व ग्रहरण गर्नेछ । सञ्जाल गठनका लागि बन्दसत्र सुरु हुनुपूर्व राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालअधिकारका विषयमा सहजीकरण गरेका थिए भने सामाजिक विकास कार्यालय लमजुङका प्रमुख दिनेश पौडेलले घोषणा पत्र लेखन, प्रतिबद्धता लेखन र कार्यविभाजनका विषयमा सहजीकरण गरेका थिए ।
प्रथम जिल्ला बाल भेलाले बाल संरक्षण, बाल बचाउ, बालअधिकारसम्बन्धी ११बुँदे घोषणापत्र जारी गरेको छ ।