माइक्रो फाइनान्सको सहाराले फेरियो निर्मलाको जीवन

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

तीन वर्षअघिसम्म छरछिमेकीहरूको घर–घरमा शौचालय सफा गरेर गुजारा चलाउने जनकपुरधाम उपमहनगरपालिका–१६ की निर्मलादेवी मल्लिक (डोम) अहिले आफैँ बंगुरपालन व्यवसाय र बाँसको नाङ्लो, दाउरा बनाएर राम्रो आम्दानी गरिरहेकी छिन् । तराई–मधेसमा सबैभन्दा कथित तल्लो जात भनेर हेपिने डोम समुदायकी निर्मलादेवी मल्लिकको जीवनमा आएको परिवर्तन कुनै दैवी चमत्कार भने होइन । तीन वर्षअघि नेसनल माइक्रो फाइनान्ससँग जोडिएपछि उनको जीवनमा क्रमशः परिवर्तन हुन थालेको हो । 

घरको आर्थिक अवस्था सुधार्न सात वर्षअघि निर्मालाका श्रीमान् मलहा मल्लिका (डोम) साहु–महाजनसँग दुई लाख ऋण लिएर खाडी मुलुक कतार गएका थिए । तर, त्यहाँ ६ महिना नपुग्दै उनी बिरामी भएर घर फर्के । बिरामी श्रीमान्को स्वास्थ्य उपचारले निर्मलालाई थप ऋणी बनायो । दुई जवान छोरीसहित पाँच बच्चाको भारले उनको परिवार आर्थिक रूपमा दयनीय बन्न पुग्यो । घरमा खाना पकाउनसमेत छिमेकीको सहारा लिनुपर्ने बाध्यतामा महिना, दुई महिना मात्र होइन, झन्डै तीन वर्ष बिताइन् निर्मलाले । 

आफ्ना पुराना दुःखका दिनलाई स्मरण गर्दै निर्मला भन्छिन्, ‘आफूसँग हँुदा साहु–महाजन, छरछिमेकी र आफन्त मात्रै हुन्छ । दुःखको दिनमा कोही थिएन । साहु–महाजनसँग ऋण माग्दा यसलाई ऋण दिँदा डुबाउँछ कि भनेर विभिन्न बहाना बनाएर दिन इन्कार गर्थे ।’ तर, एक दिन गाउँकै एकजनाले उनलाई कसैले ऋण दिइरहेका छैनन् भने नेसनल माइक्रो फाइनान्सले समूह बनाएर ऋण दिइरहेका छन्, त्यही समूहसँग जोडिनु भन्ने सल्लाह दिए । त्यसपछि उनी नेसनल माइक्रो फाइनान्सको सम्पर्कमा आइन् । 

सुरुमा नेसनल माइक्रो फाइनान्सबाट निर्मलाले ६० हजार ऋण लिइन् र बंगुरपालन व्यवसाय सुरु गरिन् । ६० हजारमा तीनवटा बंगुर खरिद गरेर पालन गरिन् । तर, एक वर्ष नपुग्दै हैजाका कारण तीनमध्ये एउटा मात्रै बंगुर बच्यो । त्यसपछि पुनः उनले माइक्रो फाइनान्सबाट एक लाख ऋण लिइन् र पाँचवटा बंगुर खरिद गरिन् । यसबाट भने उनले राम्रो आम्दनी गरिन् । बंगुरपालनबाट राम्रो आम्दानी देखेर व्यवसाय बढाउन दुई लाख ५० हजार ऋण थपेर १० वटा बंगुर खरिद गरिन् । यसरी निर्मलाको बंगुरपालन व्यवसाय बढ्दै गयो । 

बंगुरपालन व्यवसाय र बाँसको नाङ्लो, दाउरा बनाएर राम्रो आम्दानी गरिरहेकी छिन् । तराई–मधेसमा सबैभन्दा कथित तल्लो जात भनेर हेपिने डोम समुदायकी निर्मलादेवी मल्लिकको जीवनमा आएको परिवर्तन कुनै दैवी चमत्कार भने होइन ।

त्यही व्यवसायबाट आएको आम्दानीले क्रमशः दुई छोरीको बिहे पनि निर्मलाले गरिन् । अहिले दुई छोरी र एक छोरालाई विद्यालयमा पनि पढाइरहेकी छिन् । नेसनल माइक्रो फाइनान्स जनकपुरका म्यानेजर पंकज यादव भन्छन्, ‘उहाँलाई हामीले पटक–पटक ऋण दियौँ र व्यवसाय बढाउँदै जानुभयो । फाइनान्सले पाउने ब्याज एकदम समयमा बुझाउने भएकाले हामीलाई ऋण दिन कुनै समस्या भएन । विनाधितो उहाँले मागेअनुसारको दियौँ । केही महिनाअघि मात्रै निर्मलाले तीन लाख ऋण माग गरेकी थिइन् र उहाँको पुरानो व्यवहार देखेर तुरुन्त फाइललाई सदर गरेर ऋण उपलब्ध गरायौँ ।’ अहिले निर्मलाले एक दर्जन बंगुरपालन गरेकी छिन् । निर्मला भन्छिन्, ‘अहिले दुई–तीन दर्जन पनि बंगुरपालन गर्ने मसँग क्षमता छ, तर जग्गाको अभावमा गर्न सकिरहेका छैनाैँ, त्यसैले अहिले बंगुरपालनसँगै  नाङ्लो, दाउरा, हातेपंखा बनाउने व्यवसायतिर पनि जोड दिएकी छु ।’ 

‘नाङ्लो, दाउरा बनाएर बेच्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ निर्मलाले बताइन् । उनले भनिन्, ‘हाम्रो डोम समुदायबीच एकता नहुँदा सस्तोमै बेच्नुपरिरहेको छ ।’ नेसनल माइक्रो फाइनान्सले आर्थिक रूपमा मात्र नभई मानसिक, सामाजिक साथै व्यक्तित्वको विकासमा पनि निर्मलालाई सघाएको छ । पूर्ण रूपमा अनपढ रहेकी निर्मला समितिमै बास्दाबस्दै आफ्नो हस्ताक्षर गर्न, गणितका एक–दुई अक्षर चिन्न सक्षम भएकी छिन् । उनी भन्छिन्, ‘मलाई लेखपढ गर्न आउँदैन । तर, समितिमा बसेर आफ्नो नाउँ लेख्न सिकेँ, मोबाइलमा फोन लगाउन सिकेँ । सबभन्दा ठूलो कुरा कसैसँग कुराकानी गर्दा पनि संकोच हुन्थ्यो । तर, आज यी समस्याहरू छैनन् । म कसैसँग विनासंकोच कुराकानी गर्न सक्ने भएकी छु, यो देन पनि नेसनल माइक्रो फाइनान्सकै हो । म त्यो संस्थाप्रति आभारी छु ।’

लघुवित्त सेवालाई दूरदराजसम्म पुर्‍याउँदै आएका छौँ
नेसनल माइक्रो फाइनान्स कम्पनीको वित्तीय सूचकहरूको अवस्था कस्तो छ ?
नेसनल माइक्रो फाइनान्स १८ असार ०७१ बाट सुरु भएको हो । नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, सिभिल बैंकलगायतका बैंकहरू प्रवद्र्धक रहेका छन् । यो अवधिमा ६४ जिल्लामा सयवटा शाखा कार्यालयमार्फत एक लाख ४५ हजार घरधुरीमा पुगेका छौँ । हामी स्थापनाकालदेखि नै नाफामा छौँ । गत आवमा संस्थाले २५ करोड नाफा गरेको छ । संस्थाले ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने दुई अर्ब रुपैयाँ बचत छ । कम्पनीको पुँजी ६० करोड पुगेको छ । संस्थाले १० करोड रुपैयाँ पुँजीबाट सुरुवात गरेको थियो । हामीले अहिलेसम्म हकप्रद सेयर निष्कासन गरेका छैनौँ । विगत पाँच वर्षदेखि बोनस वितरण गरेका छौँ । संस्थाले ४५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

संस्थाको प्राथमिकताका क्षेत्रहरू कुन–कुन हुन् ?
त्यस्तै, यो अवधिमा हामीले महिला सहयात्रा लघुवितलाई प्राप्ति गर्‍यौँ ।  हामीले संस्थाभित्रको सुशासन, कर्मचारीको व्यक्तित्व विकास, सेवाग्राहीलाई दिइने सेवा–सुविधाका विषयमा पनि सजग रहेका छौँ । संस्थाले महिला सेवाग्राहीलाई पनि प्राथमिकता दिएको छ । केही समयअगाडि बोल्न डराउने महिलाहरू अहिले हामीसँग छलफल गर्ने, प्रश्न गर्न सक्ने हुनुभएको छ । अर्थात्, हामीले व्यापार र व्यवसाय मात्रै होइन, व्यक्तित्व विकासमा समेत काम गरेका छाैँ । संस्थाले सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएको छ । वित्तीय पहुँच नपुगेको क्षेत्रलाई प्राथमिकतामा राखेको छ । हामीले विपन्न वर्गलाई कृषि क्षेत्र, किराना पसल, सेवा क्षेत्रलगायतका क्षेत्रलाई बढी फोकस गरेका छौँ । 

संस्थाको भविष्यका योजनाहरू के–के छन् ?
लघु वित्तीय संस्थाहरू व्यावसायिक रूपमा स्थापित हुन उद्यम क्षेत्रको विकास गरेर मात्रै हुँदैन, कर्जाहरू मात्रै वितरण गरेर पनि हुँदैन । अन्य विविध सेवा र सुविधाहरू लिएर सदस्यसमक्ष जानुपर्नेछ । त्यस्तै, सेवाग्राहीको वित्तीय साक्षरतामा पनि सुधार गर्नुपर्नेछ । हाम्रा सबै ग्राहकहरूमा वित्तीय साक्षरता छैन । नाफा, घाटा र आम्दानीको हिसाब–किताब राख्न सक्नुहुन्न । त्यसैले हामीले सबै सेवाग्राहीलाई वित्तीय साक्षरतामा पनि जोड दिनुपर्ने हो । साथै, अहिले पनि मानिसहरूले घर–घरमा बचत जम्मा गर्न जाने अवस्था छ । त्यसैले घरमा राखेको रकमलाई बैंकसम्म ल्याउनुपर्नेछ । यसका लागि पनि हामीले वित्तीय साक्षरतालाई व्यापक रूपमा बढाउनुपर्नेछ ।  अबको समय प्रविधिको हो । त्यसैले अबका दिनमा प्रविधियुक्त लघुवित्त सेवा दिनुपर्नेछ । सेवाग्राहीलाई डिजिटल प्रविधिमा सक्षम बनाउनुपर्नेछ । त्यस्तै, विभिन्न लघुवित्त संस्थाबाट कर्जा लिने, तर व्यवस्थापन गर्न नसक्दा घरबारविहीन हुनुपर्ने अवस्थालाई सुधार गर्नुपर्नेछ । 

सुझावित समाचार