मोरङ ग्रामथान गाउँपालिका–५, तेतरियाका ५५ वर्षीय लेलु चौधरी र उनकी श्रीमती उषावती चौधरी दुवै अपांगता भएका दम्पती हुन् । लेलुका दुवै हात जन्मजात खिइएका छन् भने श्रीमती उषाको खुट्टा अपाङ्ग छ । ०५१ मा विवाह गरेका उनीहरूलाई परिवार चलाउन निकै धौ–धौ थियो । ११ वर्षअघि उषा नेरुडेको बचत समूहको सदस्य बनिन् । र, बचत गर्दै ऋण लिएर कुखुरा, सुँगुर र बाख्रा पाल्ने उद्यम गर्न थालिन् । हाल उनले नेरुडेबाट चार लाख ५० हजार कर्जा लिएर किराना र चिसो पेयको पसल खोलेकी छिन् । श्रीमान्–श्रीमती दुवै मिलेर पसल चलाउँछन् । एक छोराबुहारी र नातिनातिनीका धनी उनीहरू दैनिक आठदेखि १० हजारको कारोगार गर्छन् । छोरालाई आफ्नै खर्चमा विदेश पनि पठाउन सक्षम भएका छन् । श्रीमती उषा भन्छिन्, ‘यो सबै नेरुडेकै सहयोगले भएको हो, किस्ता तिर्न कुनै समस्या छैन ।’
ग्रामथान–३, सिदराहकी ५२ वर्षीया सोभनीदेवी विश्वास १४ वर्षअघि नेरुडेको बचत समूहको सदस्य बनेकी हुन् । उनले हाल तीन लाख रुपैयाँ विनाधितो ऋण लिएर आफ्नै चारवटा पोखरीमा माछा र सुँगुरपालन गरिरहेकी छिन् । नेरुडेको १ नम्बर केन्द्रकी सदस्य सोभनीलाई परिवार पाल्न र किस्ता तिर्न कुनै समस्या छैन । उनले छोरालाई यसपालि वार्ड अध्यक्षको उम्मेदवार बनाउने सोचसमेत बनाएकी छिन् । यस्तैमध्येकी हुन्, ग्रामथान–६ का नैनसरी विश्वास र सुनसरीको इटहरीकी ताराकुमारी सार्की पनि । खान, लाउन धौ–धौ भएका दुवैले नेरुडेबाट ऋण लिएर उद्यम गरेपछि उनीहरू मालिक बनेका छन् । नैनसरी गाउँमै किराना पसल चलाउँछिन् भने ताराको इटहरीमा जुत्ता उद्योग छ । ताराले आफ्नो उद्योग धरानमा पनि विस्तार गरिसकेकी छिन् भने नैनसरीले किराना पसल विस्तार गरेकी मात्र छैनन्, आफ्नै घरसमेत बनाउन भ्याएकी छिन् ।
व्यवसायमा पुनरुत्थान कर्जा दिएर उत्प्रेरित गर्यौँ
हुनत सहकारी र वाणिज्य बैंकहरूले पनि लघुवित्तको काम गरिरहेका छन् । तर, ती पूर्ण छैनन् । उनीहरूले विपन्न वर्ग कर्जा मात्र प्रवाह गरिरहेका छन् । लघुवित्तहरूले विनाधितो सात लाख र धितोसहित १५ लाखसम्म कर्जा दिन्छन् । हामी ऋण लिएर पनि गरिबी निवारणका लागि वित्तीय मध्यस्थता गर्दै कर्जा वितरण गर्छौँ । गैरवित्तीय सेवातर्फ समूह परिचालनमा वित्तीय साक्षरता सेवा दिन्छौँ । उद्यमशीलताका लागि तालिम सहजीकरण गर्छाैँ।
कोरोना र तरलता चुनौती
कोरोना महामारीको समयमा केन्द्रका मासिक र पाक्षिक बैठकहरू हुन सकेनन् । कलेक्सन ठप्प भयो । यसले निष्क्रिय कर्जाको मात्रा बढायो । व्यवसायमा पुनरुत्थान कर्जा दिएर उत्प्रेरित गर्यौँ । यसो गर्दा निष्क्रिय कर्जाको मात्रा घटेर ८ दशमलव ३२ बाट ४ दशमलव ६८ मा आयो । हामीले कर्मचारीलाई पनि विशेष दक्षता अभिवृद्धि गर्यौँ । सदस्यहरूलाई भरोसा दिलायौँ । अनुमगनमा जोड दियौँ । यसैले कारोबार ट्र्याकमा ल्याउन सफल भयौँ । तर, लकडाउनपछि तरलता संकुचनले गर्दा चुनौती थपिको छ । अहिले वाणिज्य बैंकको कर्जा महँगो भएकाले आवश्यक ऋण मात्र प्रवाह गरिरहेका छौँ । जसले कर्जा अनुशासन कायम गराएको छ । तर, नाफा–नोक्साको ‘थ्रेट’ भने कडा छ । करोबारमा संकुचन आएको छ ।
हातमुख जोर्ने समस्या उद्यमशीलतामा फेरिँदै
नेरुडेले कारोबार थाल्दा सदस्यहरूमा हातमुख जोर्ने समस्या थियो । उनीहरूलाई उद्यमशीलतामा परिणत गराउनु हाम्रो उद्देश्य हो । तर, त्यसका लागि नेरुडे एक्लैले सक्दैन । उद्यमीहरूको दक्षता वृद्धिसँगै बजारको सहज पहुँच पनि आवश्यक हुन्छ । यसमा तीन तहको सरकारले सहयोग गर्नुपर्छ । यसो भयो भने ग्रामीण क्षेत्रको त कायापलट नै हुन्छ । यसैले हामी ग्रामीण क्षेत्रका युवाहरूलाई वित्तीय साक्षरता कार्यक्रम चलाउने सोचमा छौँ । उद्यमशीलता अभिवृद्धि गर्ने र स्वरोजगारी वृद्धि गराउने कार्यक्रममा प्राथमिकता दिइरहेका छौँ । यसका लागि हामीले उद्यमशीलता विभाग नै गठन गरेरका छाैँ ।
ब्याज महँगो होइन
झट्ट सुन्दा ब्याज महँगो भन्ने लाग्छ । हाल अधिकतम १५ प्रतिशत ब्याज छ । वाणिज्य बैंकहरूमा सेवा लिन धाउनुपर्छ, तर हामी सदस्यहरूको घरघर धाउँछौँ । पहिले २४ प्रतिशतसम्म थियो, अहिले घटेको छ । हामीले नौ अर्बको कर्जा धान्न पाँच सय कर्मचारी परिचालन गर्नुपरेको छ ।
सरकारले समन्वय गरे सेवा अति प्रभावकारी हुन्छ
तीनै तहका सरकारले चाहेमा कृषक र उद्यमीहरूसँग काम गर्न सेवामुखी कार्यालयहरूमार्फत लघुवित्तका समूहरूलाई परिचालन गराउन सक्छन् । उसै पनि हाम्रो समूह समावेशी छ । यसैले समन्वय बढी प्रभावकारी हुन्छ । प्रधानमन्त्री, मुख्यमन्त्री आदि परियोजनाहरू सहजै लक्षित वर्गमा पुग्छन् । कार्यक्रममा दोहोरोपन आउन पाउँदैन । स्रोत–साधनको उपयोगिता बढ्छ । कुनै पनि अनुसन्धानहरू लघुवित्तहरूमार्फत गर्ने हो भने झन् प्रभावकारी हुन्छ । हाम्रो विराट मेडिकल कलेजसँग एमओयू सफल भएको छ । डिडिसीजस्ता संस्थाहरूले प्लान्ट र परियोजनाहरू लघुवित्तसँग समन्वय गरेर सञ्चालन गर्दा झन् प्रभावकारी हुन्छ ।
सबै लघुवित्त नाफामुखी छैनन्
लघुवित्तहरू नाफामुखी मात्र भए भन्ने आरोप गलत पनि होइन । आमलघुवित्तहरूको चुक्ता पुँजी कम छ । पाँच–सात करोड पुँजी भएका पनि छन् । कम्पनीमा दर्ता भएपछि लघुवित्तहरू पनि करको दायरामा आउन बाध्य भए । यसैले नाफा अनिवार्य भयो । सञ्चालक समिति र सदस्यहरूले पनि नाफा खोज्न थाले । सरकारले पनि कर बढाउँदै गयो । अनि सामाजिक दायित्व तुलनात्मक रूपमा ओझेलमा पर्दै गयो ।
लघुवित्तलाई अझै राम्रो बनाउने हो भने लघुवित्तलाई अझै राम्रो बनाउन सदस्यहरूलाई व्यावसायिक उद्यमशील बनाउनुपर्छ । व्यावसायिक सोचबाट निर्णयहरू गरिनुपर्छ । जनशक्तिलाई तिखार्दै लानुपर्छ । अनुगमन चुस्त बनाउनुपर्छ । अब कर्जा सूचना केन्द्र स्थापना भइसकेकाले धेरै कर्जा लिनेहरू निरुत्साहित हँुदै जान्छन् र खराब कर्जाको मात्रा नियन्त्रण हुँदै जान्छ । यसैले अब उद्यमशीलतामा जोड दिँदै जानुपर्छ ।
लघुवित्तले आत्महत्या बढायो भन्नु गलत हो
पहिला लघुवित्त कम थिए । बीचमा ह्वात्तै बढे । धेरै समूहहरू बने । कर्जा लगानी भयो । तर, उत्पादन भएन । केहीले आफ्नो क्षमताभन्दा बढी कर्जा लिए । फजुल खर्च पनि गरे । अनि ऋणीहरू ऋणको चक्रमा फसे । ऋण उठाउन केही प्रेसर हुन्छ । कसैले सहन सकेनन् र आत्महत्या गरे होलान् । तर, यसमा आमलघुवित्त होइन, केही संस्थाका सीमित कर्मचारीहरू मात्र दोषी हुन् ।