चुनावी मोडालिटीबारे छलफलका लागि गठबन्धनको बैठक जारी

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण
चुनावी मोडालिटीबारे छलफलका लागि गठबन्धनको बैठक जारी

फाइल फाेटाे ।

चुनावी मोडालिटीबारे निर्णय लिन सत्तागठबन्धनको बैठक सुरु भएको छ। चुनावी रणनीति बनाउन नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक अहिले प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको हो। 

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बैठक जारी छ।  बैठकमा पाँचदलीय सत्तागठबन्धनको तर्फबाट स्थानीय तह निर्वाचनमा देशव्यापी तालमेलका लागि आह्वान  गर्नेलगाायतका विषयमा छलफल हुन लागेको हो। गठबन्धनले शनिबारसम्म सबै जिल्लामा गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउन स्थानीय संयन्त्रलाई निर्देशन दिएको थियो। सबै जिल्लाको प्रतिवेदनको विश्लेषणका आधारमा गठबन्धनले थप निर्णय लिने तयारी गरेको छ।

१७ चैतमा बसेको सत्तागठबन्धनको बैठकले स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय लिएको थियो। तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्ति सन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन मगाउने सहमति गरेका थिए। २२ चैतमा बसेको बैठकले भने पौडेलको नेतृत्वमा गठबन्धनको निर्वाचन तयारी र अनुगमन समिति गठन गरेको थियो। 

पौडेल संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको दशसदस्यीय निर्वाचन तयारी तथा अनुगमन समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्यका रूपमा रहेका छन्। समितिलाई शीर्ष नेताहरूको निर्देशनअनुसार निर्वाचनको तयारी र अनुगमन गर्ने, टिकट वितरण गर्ने, उम्मेदवारको मापदण्ड र विवाद निरुपणलगायत विषयमा निर्णय गर्ने जिम्मेवारी रहेको छ । २३ चैतमा समितिको बैठकले उम्मेदवारको मापदण्डबारे छलफल सुरु गरेको थियो।

सुझावित समाचार