नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी स्थानीय तहको निर्वाचनलक्षित घोषणापत्र पारित गरेको छ। पार्टीको केन्द्रीय सचिवालयमा चैत्र २६ र २७ गते बसेको बैठकले स्थानीय निर्वाचन घोषणापत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझाबसहित पारित गरेको हो।
बैठकले निर्वाचन परिचालन कमिटी गठन, मापदण्ड निर्धारण, सिफारिस एवं निर्णय प्रक्रिया निर्धारण र समय तालिका निर्धारणसम्बन्धी निर्णय पनि गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारीहरूसमेत रहेको एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।
त्यस्तै, महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरिएको छ। जसमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन्।
बैठकले वडा कमिटीले यही चैत ३० भित्र, पालिका कमिटीले आगामी वैशाख २ भित्र, जिल्ला कमिटीले वैशाख ४ भित्र, प्रदेश कमिटीले वैशाख ६ भित्र तथा केन्द्रीय कमिटीले वैशाख ८ भित्र स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्न समयतालिका निर्धारण गरेको छ।