कीर्तिमानी खेलाडी, जसले अभाव झेल्न नसकेर खेल नै छाडे

शनिबार, २६ चैत, २०७८
डिजिटल संस्करण

विश्वभरि नै खेलाडीलाई राज्यले गहना र सम्पत्तिको रूपमा लिने गर्छ । आमनागरिकको नजरमा पनि उनीहरू निकै सम्मानित हुन्छन् । खेलाडीले देशकै नाम चिनाउने भएकाले उनीहरू सबैको नजरमा निकै माथि हुन्छन् । तर, जुम्लाबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर कीर्तिमान बनाएका केही खेलाडीले भने खेल क्षेत्रमा टिक्न नसकेर पेसा नै परिवर्तन गरेका छन् । देशका लागि पदक र कीर्तिमान कायम गरे पनि राज्यबाट कुनै प्रकारको प्रोत्साहन नपाएपछि उनीहरू निराश भएर खेल क्षेत्रबाटै बाहिरिएका छन् ।

लक्ष्मीशरण उपाध्याय (च्वाके)

कनकासुन्दरी गाउँपालिका–५ लुडकु गाउँका लक्ष्मीशरण उपाध्याय (च्वाके) एक च्याम्पियन खेलाडी हुन् । उनले ०४१ को वीरेन्द्र रनिङ सिल्ड प्रतियोगिताबाट खेलकुद (म्याराथन) सुरु गरेका हुन् । त्यतिवेला उनले १५ सय मिटरमा तेस्रो र आठ सय मिटर दौडमा दोस्रो स्थान हासिल गरेका थिए । यस्तै, जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरका म्याराथन प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै आएका थिए । यस्तै, सन् १९९३ मा सगरमाथा आधार शिविर (५,१८४ मिटर उचाइ)बाट सुरु भई नाम्चे बजार (३,४४६ मिटर) सम्मको एभरेस्ट म्याराथनमा उनी चौथो भएका थिए । यो प्रतियोगितामा कीर्तिमानी धावक हरिबहादुर रोकाया तेस्रो भएका थिए ।

०४६ मा स्विट्जरल्यान्डमा म्याराथन प्रतियोगितामा उनी २४औँ स्थानमा आएका थिए । यो प्रतियोगितामा ४० देशका ३७ सय खेलाडी सहभागी थिए । ०४१ देखि ०६२ सम्म समय बिताउँदा सधैँ अभाव व्यहोर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘प्रतियोगितामा भाग लिन जाँदा गाडीभाडासमेत हुँदैनथ्यो । राज्यले पनि खेलाडी राष्ट्रका सम्पत्ति हुन् भन्ने कहिल्यै सोचेन, जसका कारण खेलकुद क्षेत्र नै छाडेँ ।’ यसपछि व्यापार व्यवसायमा लागेको उनको भनाइ छ । 

कुलबहादुर शाही ‘अल्ट्राधावक’

तातोपानी गाउँपालिका–१ बाइराँकाका कुलबहादुर शाही ‘अल्ट्राधावक’ हुन् । तर, उनी अहिले सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका छन् । शाही त्यही अल्ट्राधावक हुन्, जो नेपालको ७५ वटै जिल्लामा दौडेर पुगेका थिए । उनले बनाएको कीर्तिमानलाई नेपाल सरकार र खेलकुद परिषद्लगायतले कदर गर्न नसकेकामा उनी दुःखी छन् । 

उनी अहिले पनि दौडेर आफूले पाएको करिब तीन सय प्रमाणपत्र झोलामै बोकेर हिँड्छन् । अझै पनि उनी सरकारबाट केही अवसर पाउने आशामा छन् । तर, शून्य हात लागेको उनले बताए । उनी भन्छन्, ‘मैले प्रमाणपत्रहरू झोलामा बोकेर हिँडेको ६ वर्ष भइसक्यो, तर अहिलेसम्म केही अवसर पाएको छैन ।’ ०६८ मा जुम्लाबाट ७५ जिल्लाको दौड सुरु गरेको उनले दुई सय १८ दिनमा सम्पन्न गरेका थिए । त्यति बेला जुम्ला, मुगु, हुम्ला, कालिकोट, दार्चुला, नुवाकोट, इलाम, विराटनगर, धादिङ हुँदै काठमाडौं पुगेर दौड पूरा गरेका थिए ।

विश्व साइकलयात्री पुष्कर शाहबाट प्रभावित भएर दौडिन थालेको उनले बताए । उनले थपे, ‘घरको आर्थिक अवस्था निकै नाजुक थियो । बुबाले सापटी गरेर दिएको १५ सय रुपैयाँ, १६ वटा कोदो र फापरको रोटी, दुई बोतल पानी र केही प्याकेट चाउचाउ बोकेर म ७५ जिल्लाको दौडमा निस्केको थिएँ ।’ उनी अब गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाउने तयारीमा पनि छन् । 

शाहीले आठौँ अन्नपूर्ण म्याराथनको एक सय किलोमिटर र ५० किलोमिटरमा पनि भाग लिएका थिए । उनी अहिले पनि साताको तीन दिन काठमाडौंको रिङरोड र चार दिन रंगशाला परिसरमा दौडने गर्छन् । उनले भने, ‘काम गर्दा पाइने १२ हजार रुपैयाँ तलबले गाउँमा रहेका वृद्ध आमाबुबालाई पनि पठाउनै पर्‍यो । एउटा कोठाको भाडा नै ३५ सयदेखि चार हजार पर्छ । अहिलेसम्म पनि राम्रो गाँस, बास र कपासको व्यवस्था गर्न सकेको छैन ।’ 

पूर्णराज न्यौपाने (कुस्ती खेलाडी)

०२४ मा तातोपानी गाउँपालिका–४ गिडिखोलामा जन्मिएका पूर्णराज न्यौपाने कुस्ती खेलाडी हुन् । उनी आमा बितेपछि नौ वर्षको उमेरमा घरबाट निस्केका थिए ।

उनलाई भारतका एक व्यक्तिले छोरा बनाएर पालनपोषण गरेका थिए । उनले भने, ‘१४ वर्षको उमेरमा खेलकुद क्षेत्र प्रवेश गरेको हुँ । १८ वर्षमा युपी च्याम्पियन भएँ ।’

उनले ०३७ मा पहिलोपटक कुस्ती प्रतियोगितामा भाग लिएका थिए । उनले नेपालमा पनि राष्ट्रियस्तरको प्रतियोगिता जितेर गोल्ड मेडल जितेको बताए ।

०५० मा बंगलादेशको ढाकामा भएको प्रतियोगितामा पनि उनी च्याम्पियन भए । उनले खेलक्षेत्रमा उचित संरक्षण नपाएपछि ०६० देखि पूर्ण रूपमा क्षेत्र नै छाडेर अन्य पेसा रोजेको बताए । 

See More On

सुझावित समाचार