चर्च ब्वाइजको कठिन जित

शनिबार, २६ चैत, २०७८
डिजिटल संस्करण

एक खेलअघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड क्लबले शुक्रबार सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सरस्वती युथलाई २–१ ले पराजित गरेको छ । ए डिभिजनमा बढुवा भइसकेको चर्च ब्वाइजले च्याम्पियन शैलीमै सरस्वतीलाई हराउन सफल भएको हो । चर्च ब्वाइजले लिगमा १३ खेलबाट सर्वाधिक २९ अंक जोडेको छ । लिगमा चर्च ब्वाइजले दुई जित र दुई हारको सामना गरेको छ । 

सरस्वतीले १३ खेलबाट १७ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा खेलको २४औँ मिनेटमा विकास राईले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । खेलको ४६औँ मिनेटमा सनम धिमालले सरस्वतीलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । 

यसैगरी बाँसबारी क्लबले पनि लिगको सुखद अन्त्य गरेको छ । आफ्नो अन्तिम खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गर्यो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५४औँ मिनेटमा भीष्मराज घिमिरेले बाँसबारीलाई १–० को अग्रता दिलाए । खेलको ६१औँ मिनेटमा बिक्की राईले बाँसबारीलाई २–० को स्थितिमा राखे ।

खेलको ७९औँ मिनेटमा सुवासराज गोलेले झम्सीखेललाई २–१ को अन्तरमा ल्याए । जितसँगै बाँसबारीले लिगको १३ खेलबाट १९ अंक जोडेको छ । सी डिभिजनमा घटुवा भएको झम्सीखेलले १३ खेलबाट नौ अंक जोडेको छ । यसैबीच अखिल नेपाल फुटबल संघले बी डिभिजन लिगको अन्तिम चरणका दुई  खेल दशरथ रंगशालामा गराउने भएको छ । 

सुझावित समाचार