काठमाडौं महानगरपालिकाले एक करोड ८० लाख मूल्यबराबरका ह्विल स्ट्रेचरसहितका १५ शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई हस्तान्तरण गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमबीच शववाहनको साँचो हस्तान्तरण गरेका हुन्।
महानगरले क्षेत्रपाटी निःशुल्क चिकित्सालय, नेपाल एपिएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववाहन हस्तान्तरण गरेको हो। महानगरका अनुसार ती प्रत्येक शववाहनको मूल्य करिब १२ लाख चार हजार परेको छ।
सम्झौताअनुसार ती शववाहनले उपत्यकाभित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्नेछ। काठमाडौं महानगरपालिकाले १५ शववाहनमध्ये नेपाल एपिएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुईवटा हस्तान्तरण गरेको हो। प्रमुख शाक्यले हस्तान्तरण गरेका शववाहनको साँचो ग्रहण गर्दै एपिएफ अस्पतालका प्रमुख डाक्टर रूपक महर्जनले महानगरपालिकाले दिएका शववाहनको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।