छोरी सुरक्षा कार्यक्रम : जुम्लाका २,२६५ छोरीको नाममा बैंक खाता

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रममा जुम्लाका दुई हजार दुई सय ६५ जना समेटिएका छन्। १ साउन ०७६ पछि जन्मिएका जुम्लाका छोरीहरूको बैंक खाता समेटिएको तथ्यांक सार्वजनिक गरिएको हो।

जुम्लाका आठैवटा स्थानीय तहले यो कार्यक्रम लागू गरेका छन्। कार्यक्रममा कनकासुन्दरीका दुई सय ३५ जना, हिमाका दुई सय दुईजना र तातोपानीका तीन सय १८ जना समेटिएका सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले जानकारी दिए। यस्तै, गुठीचौरका दुई सय २२ जना, तिलाका तीन सय ३५ जना, चन्दननाथका दुई सय ९३ जना, सिंजाका चार सय १५ जना र पातारासीका दुई सय ४५ जना कार्यक्रममा समेटिएका छन्।

०७६ सालभन्दा पछि जन्मिएका छोरीहरूको बाबुआमाले जन्मेको ४५ दिनभित्र आवश्यक कागजात पूरा गरी बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको छ। एक दम्पतीको दुईजना छोरीले मात्र यो कार्यक्रमा समावेश हुन पाउने प्रावधान रहेको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख चौलागाईंले बताए।

बालविवाह न्यूनीकरण गर्न, उच्च शिक्षामा छोरीको सहज पहुँच पुर्याउन, आर्थिक, समाजिक, स्वास्थ्यलगायत चौतर्फी विकास गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले यो कार्यक्रमा लागू गरेको हो। सुरुमा एक हजार र मासिक पाँच सयका दरले २० वर्षसम्म छोरीको खातामा जम्मा एक लाख २० हजार रकम जम्मा हुनेछ। कार्यक्रममा समेटिए पनि २० वर्ष नपुग्दै विवाह गरेमा भने सेवा सुविधा नपाउने प्रावधान रहेको छ।

सुझावित समाचार