व्यक्तिगत कीर्तिमानले भरिएको त्रिकोणात्मक सिरिज

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण
व्यक्तिगत कीर्तिमानले भरिएको त्रिकोणात्मक सिरिज

अन्तर्राष्ट्रिय टी–२०मा हजार रन पूरा गरेपछि दीपेन्द्रसिंह ऐरी तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

  • नेपालबाट अन्तर्राष्ट्रिय टी–२० मा हजार रन पूरा गर्ने दीपेन्द्रसिंह ऐरी पहिलो खेलाडी
  • टी–२० खेलमा ह्याट्रिक गरेका दोस्रो नेपाली खेलाडी करणले २७ रन खर्चेर तीन विकेट लिए, यसै सिरिजमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको ५० विकेट पूरा 

डेढ साताअघि युएईमा भएको आइसिसी विश्वकप लिग २ मा नेपालको प्रदर्शन अपेक्षकृत थिएन । सिनियर खेलाडीको खराब प्रदर्शनलगत्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले तत्कालै मलेसिया र पपुवा न्युगिनी सम्मलित त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरे । यो टोलीमा सिनियर खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी थिएनन् । प्रशिक्षक पुबुदु र कप्तान सन्दीप लामिछानेले युवा टोलीले त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गर्ने निर्णय लिँदा त्यसवेला आलोचनासमेत भयो । 

दीर्घकालीन योजनाअनुसार अगाडि बढेको युवापुस्ताले भरिएको नेपालले त्रिकोणात्मक सिरिजको  फाइनलसम्मै एकपक्षीय नतिजा निकाल्यो । लिग चरणदेखि फाइनलसम्म नेपालले आफ्ना विपक्षीहरूलाई ब्याटिङ र बलिङमा घुँडा टेकाउन सफल भयो । एकदिवसीय खेलमा भएका कमजोरी खेलाडीले टी–२० मा दोहोर्याएनन् । 

नेपाल अन्तर्राष्ट्रिय टी–२० खेलमा बलियो टोली भएको नमुना खेलाडीहरूले यो एक सातामा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखाएका छन् । सोमबार भएको फाइनल खेल लगभग एकपक्षीय नै रह्यो । सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई पहिलो ट्रफी दिलाउँदा सिरिज दौरान व्यक्तिगत उपलब्धि रकेर्ड बनेका छन् । 

दीपेन्द्रमयी सिरिज 
एक किसिमले त्रिकोणात्मक टी–२० सिरिज दीपेन्द्रसिंह ऐरीमय बन्यो । दीपेन्द्रसिंहले समूह चरणको पहिलोदेखि फाइनलसम्म ब्याटिङ र बलिङमा जादूमय प्रदर्शन गरे । नेपालबाट अन्तर्राष्ट्रिय टी–२० खेलमा एक हजार रन पूरा गर्ने दीपेन्द्रसिंह पहिलो खेलाडी बनेका छन् ।लिग चरणमा मलेसियाविरुद्ध २१ रन बनाएपछि दीपेन्द्रले पूर्वकप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी–२० को कीर्तिमान तोडेका छन् । उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रले पपुवा न्युगिनीविरुद्ध फाइनलमा अर्धशतकीय इनिङ्स खेल्दा टी–२० खेलमा हजार रनसमेत पूरा गर्न सफल भए । 

उनले ३९ मध्ये ३४ इनिङ्समा एक हजार ३३ रन बनाएका छन् । यसक्रममा उनले पाँच अर्धशतक तथा एक शतक पनि बनाएका छन् । नेपालको क्रिकेट इतिहासमा एकदिवसीय तथा टी–२० खेलमा शतकीय इनिङ्स खेल्ने दीपेन्द्र दोस्रो नेपाली खेलाडी हुन् । यसअघि यो रेकर्ड पारसको नाममा थियो । दीपेन्द्रले यो सफलता लिग चरणमा मलेसियाविरुद्ध हात पारेका हुन् । मलेसियाविरुद्धको खेलमा दीपेन्द्रले एक सय १० रन बनाए । जुन नेपाली खेलाडीमध्ये अन्तर्राष्ट्रिय टी–२० खेलमा बनाएको व्यक्तिगत सर्वाधिक रनसमेत थियो । 

नेपालको ब्याटिङ दीपेन्द्रले सम्हालेका थिए । समूह चरणमा उनले पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा मात्र कमजोर प्रदर्शन गरेका थिए । पपुवा न्युगिनीविरुद्धको दोस्रो खेलमा ६६ रन बनाए । त्यसपछि मलेसियाविरुद्धको समूह चरणमा शतकीय इनिङ्समेत खेले भने बलिङतर्फ पाँच खेलमा सात विकेट लिए । 

ह्याट्रिक र पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी 
चोटका कारण ओमान र युएईमा भएको खेल गुमाएका करणले पपुवा न्युगिनीविरुद्धको एकदिवसीय र त्रिकोणात्मक सिरिजमा स्थान बनाएका हुन् । करणले आफूलाई यसपटक पनि अलराउन्डर भूमिकामा प्रदर्शन गरे । ब्याटिङको अवसर पाउँदा करणले आफूलाई सिरिजमा विस्फोटक खेलाडीका रूपमा प्रस्तुत गरे । यसको उदाहरणका रूपमा उनले फाइनलमा बटुलेको ३३ रन थियो । त्रिकोणात्मक सिरिज एक किसिमले करणको करिअरमा भुल्न नसक्ने रूपमा रहन सक्छ ।

पपुवा न्युगिनीविरुद्धको समूह चरण प्रतिस्पर्धामा करणले करिअरकै उत्कृष्ट बलिङ मात्र गरेनन् । उनले व्यक्तिगत रेकर्डसमेत बनाए । सो खेलमा उनले ह्याट्रिक मात्र लिएनन्, पपुवा न्युगिनीका पाँच ब्याट्सम्यानलाई समेत आउट पारे । अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपालबाट ह्याट्रिकसहित पाँच विकेट लिने करण पहिलो खेलाडी हुन् ।

यसअघि सन् २०१२ मा विश्वकप छनोट खेलमा स्पिनर शक्ति गौचनले डेनमार्कविरुद्ध ह्याट्रिक लिएका थिए । करण टी–२० खेलमा ह्याट्रिक गर्ने दोस्रो नेपाली खेलाडी हुन् । करणले उपाधि भिडन्तमा केवल २७ रन खर्चेर तीन विकेट लिए । करणले अन्तर्राष्ट्रिय टी–२० खेलमा ३८ इनिङ्समै बलिङ गर्दै ५७ विकेट लिएका छन् । उनले यसै सिरिजमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका थिए । लिग चरणमा उनले पपुवा न्युगिनीविरुद्ध एक विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । टी–२० खेलमा करण नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि सन्दीप अन्तर्राष्ट्रिय टी–२० खेलमा ५० विकेट पूरा गर्ने पहिलो खेलाडी हुन् । 

नेपालको ५० अन्तर्राष्ट्रिय खेल पूरा नेपालले यसै त्रिकोणात्मक सिरिजमै 
आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेको छ । समूह चरणमा नेपालले यो सफलता पपुवा न्युगिनीविरुद्ध बनाएको हो । सन् २०१४ को आइसिसी टी–२० विश्वकप क्रिकेटबाट नेपालले अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । इतिहासमै नेपालको पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल हङकङविरुद्ध थियो । नेपालले पहिलो नै हङकङविरुद्ध जित निकालेको थियो । सन् २०१५ को टी–२० खेलमा विश्वकपमा पुग्न नक्दा नेपालले टी–२० मान्यता गुमाएको थियो । सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदा स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पायो । त्यसको एक महिनामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सबै राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रियको मान्यता दियो ।

 दिलीपको डेब्यु
प्रशिक्षक पुबुदुले सिरिजमा बाँयाहाते खेलाडीका रूपमा दिलीप नाथलाई प्रयोग गरे । उनले मलेसियाविरुद्धको खेलमा दिलीपलाई डेब्यु गराए । उनले पहिलो खेलमा त्यति मौका पाएनन् । बायाँहाते ब्याट्सम्यान दिलीपले सात बल सामना गरी तीन चौका प्रहार गरी १५ रन बटुले ।

सुझावित समाचार