बार एसोसिएसनको केन्द्रीय नेतृत्वका लागि भोलिबाट मतगणना

सोमबार, २१ चैत, २०७८
डिजिटल संस्करण
बार एसोसिएसनको केन्द्रीय नेतृत्वका लागि भोलिबाट मतगणना

फाइल तस्बिर

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानको मतगणना मंगलबारबाट सुरु हुने भएको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार देशभरबाट मतपेटिका काठमाडौं ल्याइएसँगै मतगणना सुरु गर्न लागिएको हो। 

पाठकका अनुसार  काठमाडौं केन्द्रसहित देशका अन्य ३४ स्थानबाट मतपेटिका काठमाडौं ल्याइसकिएको छ। बारको नयाँ नेतृत्वका लागि गत शनिबार मतदान भएको थियो।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको थियो। नौ हजार ७०८ अधिवक्ता मतदाता सहभागी भएका थिए। 

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूह प्रतिस्पर्धामा छन् । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । 

बारमा अध्यक्षका लागि आठजनाले उम्मेदवारी दिएका छन्।  काठमाडौं केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा र काठमाडौंबाहिर ३४ स्थानमा मतदानको व्यवस्था गरिएको थियो।

सुझावित समाचार