रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ६ धुन्चेकी देकी तामाङको ७ जनाको परिवार छ । उनी विवाह गरेर श्रीमानको घर आएको तीन दशक बितेको छ । उनी विवाह गरेर आउनुअघिसम्म उनी सासुले घरव्यवहार चलाउने, कहाँ खर्च गर्ने, के गर्ने भन्ने निर्णय गर्थिन् । जब उनी विवाह गरेर आइन्, त्यसपछि जिम्मेवारी उनमा थपियो । घरव्यवहार चलाउन तथा हरेक कुराको निर्णय गर्ने घरमुली उनी बनिन् । उनका श्रीमान् छोवाङ तामाङ भने त्यतिवेला सरकारी कर्मचारी थिए । श्रीमानले कमाएको रकमसमेत उनलाई दिन्थे । घरव्यवहार चलाउने, कहाँ खर्च गर्ने, के गर्ने भन्ने निर्णय गर्ने अधिकार श्रीमतीलाई नै दिएका थिए । उनका श्रीमान अहिले सरकारी जागिरबाट रिटायर भएको तीन वर्ष भयो । देकीले घरव्यवहार चलाउन सञ्चालन गरेको किराना पसलमा हिजोआज छोवाङले सघाइरहेका छन् ।
घरमुलीको जिम्मेवारी बहन गर्दा गौरवको अनुभूति भएको देकी बताउँछिन् । ‘विवाह गरेर आएदेखि घरव्यवहार चलाउने, कहाँ खर्च गर्ने, के गर्ने सबै निर्णय मैले गरेकी छु, मैले घरखर्च गर्न किराना पसल सञ्चालन गरेको छु, श्रीमानले पनि केही न केही गरिरहनुभएको छ, उनले भनिन्, ५ जना छोरी छन्, हुर्काउने, पढाउने, समाजमा गर्नुपर्ने सबै ठाउँमा मैले गर्छु ।’
देकी जस्तै कर्मो तामाङ पनि घरव्यवहारसँगै खर्च गर्ने निर्णय आफैँ गर्छिन् । उनका श्रीमान फर्निचरमा काम गर्छन् । कमाएको पैसा श्रीमतीलाई नै राख्न दिन्छन् । कर्मो भने सिजनअनुसारको तरकारी खेतीको व्यवसाय गर्छिन् । ५ जनाको परिवार रहेको उनको श्रीमानसँग सल्लाह त हुन्छ तर कति खर्च गर्ने, कति बचत गर्ने, कहाँ लगानी गर्ने भन्ने निर्णय आफैँले गर्ने गरेको बताउँछिन् । ‘श्रीमानसँग पनि सल्लाह त लिन्छु तर तरकारी खेती गर्दा कति किन्ने, गाउँ समाजमा हुने कार्यमा के गर्ने कसरी गर्ने भन्ने निर्णय म आफैँले लिने गर्छु र श्रीमानलाई पनि भनिराखेको हुन्छु,’ उनले नयाँ पत्रिकासँग भनिन् ।
देजेन छोमो घले पनि टोपी, मोजा, स्विटर, झोला बुनेर घरव्यवहार चलाउँछिन् । सँगै उनले सानो किराना पसल पनि सञ्चालन गरेकी छिन् । उनी भन्छिन्, ‘अरूको भर पर्नुभन्दा आफैँले केही गर्नुपर्छ, महिलाहरूले पनि चाहे भने घरव्यवहार चलाउन तथा हरेक कुराको निर्णय र नेतृत्व लिन सक्छन् ।’
देकी, कर्मो र देजेन त घरव्यवहार चलाउने, कहाँ खर्च गर्ने, के गर्ने भन्ने निर्णय र नेतृत्व गर्ने उदाहरणीय पात्र मात्र हुन् । हिमाली जिल्ला रसुवाको माथिल्लो भेगका तामाङ समुदायका महिलाहरूले भने यो निर्णय आफैँले गर्ने गरेका छन् । सामाजिक पाटोमा होस् या आर्थिक पाटोमा महिलाहरूले नै निर्णय गर्छन् । आवश्यक सामाग्रीहरू खरिद गर्न कति खर्च गर्ने, रकम केमा लगानी गर्ने भन्ने अधिकार महिलाको हातमा नै हुन्छ । आर्थिक रूपमा महिला पुरुष नै सक्षम हुन्छन् । दुवैले केही न केही काम गरिरहेका हुन्छन् ।
सामान्यदेखि जोखिम मोल्ने काममा पनि महिलाहरू पछि हट्दैनन् । तामाङ समुदायका महिलाहरू स्यामा, बख्खु, टोपी, झोला, पटुका बुन्ने, सिजनअनुसारको तरकारी खेती, घरेलु मदिरा बनाई बिक्री गर्ने, आवास निर्माणको क्रममा हुने कार्यहरूमा समेत सहभागी हुने गरेका छन् । यस्ता गतिविधिबाट महिलाहरूले आर्थिक लाभ लिइरहेका हुन्छन् ।
पारिवारिक सल्लाह गरेरै कहाँ खर्च गर्ने, के किन्ने, कहाँ लगानी गर्ने भन्ने विषयमा महिलाहरूले नै निर्णय गर्ने गर्दछन् । यसले मातृसत्तात्मक प्रणाली झल्कने गरेको पाइन्छ ।
महिलाले अनावश्यक खर्च नगर्ने हुनाले महिलासँग मागेर पैसा चलाउँदा फजुल खर्चसमेत जोगिने गरेको देकी तामाङका श्रीमान छोवाङ बताउँछन् । ‘कमाएको पैसा राख्न दिने र चाहिएको वेला मागेर खर्च गर्ने गरेको छु, यसले फजुल खर्च हुनबाट जोगाएको छ,’ उनले भने । आफ्नो कमाइ दिँदा परिवारमा बेमेल नहुने, श्रीमान श्रीमतीबीच विश्वास बढ्ने र घरमा शान्ति हुने गरेको अनुभव तामाङ समुदायका महिला पुरुषहरू सुनाउँछन् ।
महिलाहरूले घरव्यवहार चलाउने निर्णय र नेतृत्वले समाजको लागि एउटा सकारात्मक विषय भएको रसुवाकी महिला अधिकारकर्मी सुनितामाया गुरुङ बताउँछिन् । ‘महिलाहरूले गरेको यो निर्णय र नेतृत्वले समाजमा सकारात्मक प्रभाव पारेको छ, चारपाँँचजना महिलाको उदाहरणले अरू महिलाहरूलाई पनि आँट, हौसला,उत्प्रेरणा मिलेको छ, उनले भनिन्, केही गर्न सकिन्छ कि भन्ने महिलाहरू पनि अब हामी पनि केही गर्न सक्छौँ भन्ने हिम्मत बढेको छ ।’
महिला सशक्तीकरणमा हिमाली भेगका महिला रहेका छन् भन्ने उदाहरणसमेत भएको उनले बताइन् । करिब तीन दशकअघिदेखि महिलाहरूले निर्णय र नेतृत्व लिँदै आएको देकी तामाङ बताउँछिन् । ‘पहिला पहिला अरूको भरमा बस्नुपथ्र्यो, बिस्तारै पढेलेखेका शिक्षित मानिसहरू जागिरको लागि हाम्रो ठाउँमा आउन थाले, सिक्दै गयाैँ अनि परिवर्तन हुँदै गयो,’ उनले भनिन्, ‘केही काम गर्न सकिन्छ भनेसँगै ५ सयको लगानीले ३ हजारको बनायौँ, तीन हजारकोले लाखको लगानी बनाउँदै आयौँ, एउटाको देखेर अरूले पनि त्यसको सिको गर्दै गए ।’
पछिल्लो समय शिक्षासँगै महिला अधिकारसम्बन्धी सचेतना हुनु, राजनीतिक नेतृत्व र स्थानीय सरकारमा रोजगारीमा समेत महिला आरक्षण हुनाले महिला सशक्तीकरणमा जोडिएको रसुवाका महिला अधिकारकर्मी बताउँछन् ।