जुम्लामा २६ चैतदेखि हाई अल्टिच्युड म्याराथन प्रतियोगिता हुँदै छ । प्रतियोगिता नजिकिँदै गए पनि हवाई उडान नहुँदा नाम दर्ता गरेका १४ जना विदेशी खेलाडी काठमाडौंमै रोकिएका छन् ।
पर्यटक मात्रै बोक्ने भन्दै सबै विमान पूर्वतिर उडान भर्न थालेपछि विदेशी खेलाडीलाई म्याराथनमा सहभागी हुन असहज भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । ‘काठमाडौंबाट जुम्ला आउन असहज भएको छ, जुम्लामा चल्ने विमान कम्पनीसँग सम्पर्क गर्दा उडान गर्न नसकिने भनिरहेका छन्,’ शाहीले भने, ‘यो अवस्थामा खेलाडी जुम्ला पु¥याउन समस्या भइरहेको छ ।’
जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सको नियमित उडान गर्दै आएका थिए । तर, केही दिनदेखि सबै विमान पूर्वतिर गएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका निमित्त प्रमुख ध्रुव पाण्डेले सबै जहाजले दुई–चार दिन जुम्ला नचल्ने जानकारी दिएका छन् । उनले भने, ‘आइतबारदेखि कुनै पनि उडान हुनेछैन । चार्टर फ्लाइटको पनि तालिका आइपुगेको छैन ।’
पर्यटक ओसार्न जहाज पूर्वतिर केन्द्रित भएपछि दुर्गम जिल्लाका यात्रुले निकै सास्ती व्यहोर्नुपरेको छ । कर्णाली खेलकुद परिषद्का सदस्यसमेत रहेका शाहीले उडान नहुँदा म्याराथनमा खेलाडी सहभागी गराउन कठिन भइरहेको बताए ।
विदेशी खेलाडी कताबाट ल्याउने भन्ने विषयमा छलफल भइरहेको शाहीले बताए । सन् २०१९ मा पनि विदेशी खेलाडी म्याराथन सुरु हुनु एक साताअघि नै जुम्लामा पुगेर अभ्यास गरेका थिए । काठमाडौंमा रहेका १४ जना विदेशी खेलाडी ल्याउन जहाजहरूलाई उडानका लागि पहल भइरहेको भए पनि कुनै सुनुवाइ हुन सकेको सरोकारवालाहरूले बताएका छन् । जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याराथनका लागि हाल मुगु खण्डको म्याराथन रुटमा हिउँ जमिरहेकाले पन्छाउने तयारी भइरहेको छ । कोरोना महामारीका कारण दुई वर्ष म्याराथन हुन सकेको थिएन । म्याराथनमा सहभागी हुन त्रिभुवन आर्मी क्लबको टोली आउँदै छ । म्याराथनमा रुकुम, कालिकोट, धनगढी, सोलुखुम्बुदेखिका खेलाडीले नाम दर्ता गराइसकेका छन् ।