मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्दे र वडा नम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल निर्माण थालिएको वर्षौंदेखि अलपत्र परेको छ । वडा नम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल पनि त्यस्तै अवस्थामा छ ।
करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्दे–ङावल पुलको करिब ७० प्रतिशत काम सकिएको थियो । तर, निर्माण सम्पन्न भइसकेको संरचना गत दुई वर्षअघि भत्कियो । त्यसयता पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
पुल निर्माणको ठेक्का लिएको काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले लगातार पुल निर्माणमा बेवास्ता गर्दै आएको छ । पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ०७३ मा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । ग्वाला क्याराभानले चार करोड ५१ हजार रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का लिएको थियो । पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनर्निर्माण अघि बढ्न नसकेको स्थानीय छिरिङ गुरुङले बताए । ०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो । त्यसपछि मनाङमा नै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो ।
मनाङको माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौंदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा छ । आर्थिक वर्ष ०७४÷७५ मा सम्झौता भई निर्माण सुरु भएको मोटरेबल पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । मोटरेबल पुल निर्माणको जिम्मा स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो । कम्पनीले नौ करोड रकममा निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।
निर्माण अघि बढाउन मनाङ प्रशासनको निर्देशन
वर्षौंदेखि पुल अलपत्र रहेपछि मनाङ प्रशासनले मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो ।
सरकारी रकम खर्चेर तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै जिम्मा लिने निर्माण व्यवसायी र सम्झौता गर्ने सरकारी निकायलाई तत्काल काम सुचारु गर्न निर्देशन दिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । स्थलगत अवलोकन गर्न उक्त क्षेत्र पुगेका प्रजिअसहितको टोलीलाई स्थानीयले लामो समयदेखि पुल अलपत्र भएको गुनासो गरेपछि तत्काल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको प्रजिअ आचार्यको भनाइ छ ।