नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताएका छन्। गृहजिल्ला तनहुँको शुक्लागण्डकी– ९ तालबेँसीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘घोषणापत्रमा लेख्ने, तर काम नगर्ने दललाई भोट नदिनुहोला,’ नेता पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिबद्धता व्यक्त गर्ने, तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नुहुँदैन।’
काम नगरी जित्ने परिस्थिति बने समृद्धि आर्जन गर्न नसकिने भन्दै उनले आसन्न निर्वाचनमा कांग्रेसले स्पष्ट योजना प्रस्तुत गर्ने बताए। ‘नेपाली कांग्रेसले यो चुनावमा स्पष्ट योजना प्रस्तुत गर्नेछ। ती योजना हाम्रा प्रतिबद्धता हुन्,’ नेता पौडेलले भने, ‘हामी हाम्रा प्रतिबद्धता पूरा गर्नेछौँ। पूरा गर्न नसकिने प्रतिबद्धता हामी गर्नेछैनौँ।’
संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा हुन बाँकी रहेको भन्दै उनले नैसर्गिक अधिकारका रूपमा व्याख्या गरिएका विषयहरूतर्फ केन्द्रित भएर दलहरूले कार्यक्रम बनाउन आवश्यक रहेको औँल्याए। ‘संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा भएका छैनन्। पहिला ती विषयलाई पूरा गर्न लाग्नुपर्छ,’ पौडेलले भने, ‘खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई नैसर्गिक अधिकारका रूपमा व्याख्या गरेको छ। त्यसअनुरूप दलहरूले कार्यक्रम बनाउन आवश्यक छ।’
दलहरूले जनताको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिँदै उनले लाखौँ जनता अहिले पनि शुद्ध खानेपानीबाट वञ्चित रहेको स्मरण गरे। ‘जनताको आवश्यकता के हुन्, त्यतातिर दलहरूले ध्यान दिनुपर्छ,’ नेता पौडेलले भने, ‘भ्यु टावर होइन पानीट्यांकी बनाऔँ।’