नेपाल रेल सेवाको उद्घाटन शनिबार हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट भोलि रेलको उद्घाटन गर्ने भएका हुन् ।
रेल उद्घाटनको पूर्वसन्ध्यामा निरीक्षण गर्दै भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उद्घाटन कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइन् । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो ।
खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ ।
शनिबार रेलगाडीमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाका रूपमा सञ्चालन हुने रेलमार्गमा जनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । कुर्थासम्म पुगेर फर्किएर उनी जनकपुर आउनेछिन् ।
शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।