एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । अनेरास्ववियुले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली ठ्याक्कै चुनावअगाडि किन भारत जानुपरेको भनी प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री आउनेबित्तिकै यतिबेरै किन भारत भ्रमणमा जानुभो भनेर आफूले प्रश्न सोध्ने उनको भनाइ छ। ओलीले आगामी निर्वाचनमा पाँचदलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई आग्रह गरे ।
पाँचदलीय गठबन्धन केजीेको ढक भएको र आफ्नो पार्टी क्विन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उनको दाबी छ । ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अब हार व्यहोर्नुनपर्ने जिकिर गरे ।
देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन उनले आग्रह गरे । ओलीले माधव नेपालप्रति संकेत गर्दै नभएको राजासँग मिल्छ भनेर बुद्धि नभएकाहरूले आफूलाई आरोप लगाएको बताए ।
ओलीले कांग्रेसले भारतीय सेना भित्र्याएर देशभक्त नेपालीको टाउको कटाएको आरोपसमेत लगाए । तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्तको भारतीय सेना लगाएर टाउको कटाएर हत्या गरेको उनले दाबी गरे ।