बेनी–दरबाङ सडकखण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका– ६ डम्मरामा दुई सवारीसाधनमा आगजनी भएको छ। सडकमा पार्किङ गरी रोकेर राखिएको ध.१ज ९८६ नम्बरको भ्यान र ध.१ज ७२६ नम्बरको ट्याक्सीमा अज्ञात व्यक्तिले बिहीबार बिहान करिब ४ बजे आगजनी गरेकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्र गुरुङका अनुसार सवारीसाधनमा आगजनी गर्ने व्यक्तिहरूको पहिचान भएको छैन। बुधबार बेलुका करिब ७ बजे दुवै सवारीसाधन एक–आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि सवारीसाधनमा भएको क्षति दुवै पक्षले एक–आपसमा व्यहोर्ने गरी मिलापत्र भएको थियो।
दुवै सवारीधनी स्थानीयवासी नै भएकाले दुवै सवारीसाधनलाई डम्मरामा सडकमा नै पार्किङ गरिएको थियो। तर, दुवै सवारीसाधनमा आगजनी भएपछि घटना रहस्यमय बनेको छ।