त्रिकोणात्मक टी–२० सिरिज : नेपाल ३८ बलअघि नै विजयी

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण
त्रिकोणात्मक टी–२० सिरिज : नेपाल ३८ बलअघि नै विजयी

मलेसियाको विकेट लिएपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मलेसियामाथि ६ विकेटको जित निकालेको छ । नेपालले मलेसियालाई ३८ बलअघि नै हराएको हो । पपुवा न्युगिनीसमेत सम्मिलित सिरिजमा नेपालले दुई खेलबाट सर्वाधिक चार अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा छ । मलेसियाले दुई खेलमा दुई अंक र पपुवा न्युगिनी दुई खेलमा अंकविहीन छ ।

कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १३.४ ओभरमा चार विकेटको नोक्सानीमा एक सय १७ रन जोडेको थियो । लक्ष्य पछ्याएको इनिङ्समा नेपालले प्रतिओभर ८.५६ रनरेटमा ब्याटिङ गर्यो । इनिङ्सको १३.४ ओभरमा डेब्यु गरेका खेलाडी दिलीप नाथले मोहमद वाफकको ओभरमा चौका प्रहार गरी नेपाललाई विजयी रन बटुले । 

 आसिफको अर्धशतकीय इनिङ्स
सहज लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो भएन् । ओपनर कुशल भुर्तेल (१) इनिङ्स १.१ ओभरमा पवनदीप सिंहले आउट पारे । फर्ममा रहेका रोहितकुमार पौडेलले १२ रन जोडेर आफ्नो विकेट सेयद अजिजलाई दिए । कुशल र रोहित आउट हुँदा नेपाल ३.६ ओभरमा २५–२ को अवस्थामा थियो । त्यसपिछ दीपेन्द्रसिंह ऐरी र आसिफ सेखले तेस्रो विकेटका लागि ४४ बलमा ७० रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याए । आफिसले ५७ रन जोडे । अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यू गरेका दिलीप नाथले सात बलमा तीन चौकाको सहयोगमा १५ रन जोडे । कुशल मल्ल दुई रनमा नटआउट रहे ।

  नेपालको कसिलो बलिङ
मलेसियालाई मध्यम योगफलमा रोक्दा नेपालका सबै बलरले कसिलो बलिङ गरे । इनिङ्सको पहिलो बलमै करणले ओपनर भिरन्दिप सिंहलाई बोल्ड गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि जुवैदी जुल्फिक र अहमेद फैजबीच दोस्रो विकेटका लागि ४९ रनको साझेदारी भयो । कप्तान सन्दीपले छैटौँ ओभरमा बायाँहाते स्पिनर कुशल मल्ललाई बलिङ गर्न लगाएका थिए । कुशलले पहिलो ओभरमै जुवैदीलाई बोल्ड गर्दैै नेपाललाई खेलमा फर्काए । सो इनिङ्समा मलेसियाका लागि दोस्रो विकेटका लागि मात्र गतिलो साझेदारी भएको थियो । त्यसबाहेक अन्य विकेटका लागि राम्रो साझेदारी भएन । 

जुवैदीले १५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन बनाए । फैजले ३८ बलमा तीन चौका प्रहार गरी २४ रन जोडे । यसैगरी मोहमद अमिरले १६ रन तथा सेयद अजिजले १४ रन जोडे । नेपालका लागि करणले १६ रन खर्चेर दुई विकेट हात पारे । सन्दीपले २७ रनमा दुई विकेट लिए । कुशल, दीपेन्द्रसिंह तथा अविनाश बोहराले एक–एक विकेट लिए । 

 दीपेन्द्रद्वारा सर्वाधिक रन बनाउने रेकर्ड
मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंहले नेपालबाट अन्तर्राष्ट्रिय टी–२० खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान राखेका छन् । दीपेन्द्रसिंहले कीर्तिपुर मैदानमा सञ्चालन भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियाविरुद्ध २१ रन जोड्दै सो कीर्तिमान बनाएका हुन् । उनले नेपालका पूर्वकप्तान पारस खड्कालाई पछि पारेका छन् । यसअघि पारसले नेपालबाट अन्तर्राष्ट्रिय टी–२० खेलमा सर्वाधिक सात सय ९९ रन जोडेका थिए । अब यो कीर्तिमान दीपेन्द्रसिंहको नाममा आएको छ । उनले १७ बलमा समान एक चौका र छक्का प्रहार गरे । 

दीपेन्द्रसिंहले ३६ खेलमा तीन अर्धशतकीय इनिङ्सहित आठ सय तीन रन बनाएका छन् । पारसले ३३ खेलमा एक शतकीय इनिङ्स खेलेका थिए । दीपेन्द्रसिंहले सन् २०१८ मा नेदरल्यान्डविरुद्ध डेब्यु गरेका थिए । उनी अन्तर्राष्ट्रिय टी–२० खेलको ३१ इनिङ्समा ६ पटक नटआउट खेले । उनको सर्वाधिक व्यक्तिगत ८३ रन रहेको छ । उनले आफ्नो ३६ खेलमा ६५ चौका तथा २२ छक्का प्रहार गर्दा ६ सय ४७ बलको सामना गरेका छन् । 

 आसिफ पहिलोपटक म्यान अफ दी म्याच
 मलेसियामाथि सानदानर जित निकाल्ने क्रममा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका थिए । सिनियर टोलीमा पहिलोपटक म्यान अफ दि म्याच बनेका आसिफले सर्वाधिक ५७ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा ३८ बलमा सात चौका र एक छक्का प्रहार गरे । आसिफको अन्तर्राष्ट्रिय टी–२० मा दोस्रोपटक अर्धशतकीय इनिङ्स खेलेका हुन् । सन् २०१८ मा आसिफले त्रिवि क्रिकेट मैदानमै नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए । सो खेलमा उनले ५४ रन बनाएका थिए । आसिफले १५ खेलमा १५ इनिङ्स खेल्दै तीन सय ५९ रन जोडेका छन् । उनले अहिलेसम्म ३५ चौका र १५ छक्का प्रहार गरेका छन् ।

सुझावित समाचार