जुम्लामा मार्सीको विकल्प चन्दननाथ १ र ३

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

कालीमार्सी धानको खेती हरेक वर्ष चैत १२ देखि जुम्लामा सुरु हुन्छ । जुम्लीले चैत १२ लाई बारुवाँ पनि भन्ने गरेका छन् । ‘व्यापार–व्यवसाय गर्न हाटप्रदेश गएका जुम्ली चैताबारुवाँसम्म घर नआएमा मर्यो भुनि जान्नु’ दुई दशकअघिसम्म १२ चैतसम्म घर नपुग्दा जुम्लीको मृत्यु भएको सुनिश्चित गरिन्थ्यो । यो जुम्लाको जनजीवनमा आधारित यथार्थ भनाइ पनि हो । यससँग यहाँको सामाजिक र सांस्कृतिक जीवन जोडिएको छ ।

असोज–कात्तिकमा धान, कोदो, फापरलगायत बाली भण्डारण गरेर व्यापार–व्यवसाय गर्न कालापहाड हाटप्रदेश जाने कर्णालीवासीको जीवनशैलीसँग सम्बन्धित कथा बोकेको ऐतिहासिक महत्वको दिन हो, चैत १२ अर्थात् बारुवाँ । यसलाई जुम्लाले विशेष महत्वका साथ ‘मुठो रोपेर मुरी उत्पादन गर्ने’ दिनका रूपमा मनाउँछन् ।  कर्णाली प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर गत वर्षबाट १२ चैतमा जुम्लाको धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार जुम्लाले चैत महिनालाई ‘बारुवाँ, सोरुवाँ र विश्वाँ’का रूपमा मनाउँछ । खासगरी १२ चैतमा जुम्ली किसानले वर्षभरि सबै खेतबारीमा रोप्न मिल्ने आकलन गरी त्यही परिमाणमा कालीमार्सी धान केलाएर पुष्ट धानलाई भाँगो वा अल्लाबाट बनेको बोरामा हालेर नजिकैको नदी वा खोलामा भिजाउने परम्परा छ ।  

बारुवाँमा भिजाइएको धानलाई चार दिनपछि सोरुवाँ (चैत १६) गतेका दिन पानीबाट उतारेर किसानले घरमा ल्याउँछन् । भिजाइएको धानलाई घरको चुलोसँग जोडिएको मैडो (समथर ठाउँ) मा राख्छन् । सल्लाको झुप्रा वा भोजपत्रले त्यसलाई ढाकेर न्यानो बनाउँछन् । भिजाइएको धानको चिउरा कुट्छन् र छोरी–बहिनीहरूलाई कोसेलीका रूपमा पठाउने गर्छन् । मूलतः बारुवाँपर्व, चन्दननाथ बाबा र लक्षालकृति पैकलोबीच अन्तरसम्बन्ध रहेको आचार्यले बताए  ।

मार्सीको बिउ 
जुम्लाका गाउँहरूमा जुम्ली मार्सीको बिउ राख्दा निश्चित दिनबार नै तोकिएको हुन्छ । हरेक वर्ष १२ चैतमा बिउ पानीमा भिजाउने, १६ गते निकालेर टुसा उमार्न तातो गरेर ढाकेर राख्ने चलन रहेको छ । यसरी टुसा उमारेको बिउ २० चैतमा बेर्नामा छर्ने चलन छ । सोही दिन मार्सी छरिएकै कारण विसुवा पर्व पनि मनाइने गरिन्छ । मार्सीका विकल्पमा बढी उत्पादन हुन सक्ने भन्दै कृषि अनुसन्धान केन्द्र जुम्लाले चन्दननाथ १ र ३ धान पनि सुरु गरेको छ । जसको स्वाद मार्सीधानकै जस्तो हुने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।   

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार कालीमार्सीधान उच्च भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी हो । यो उच्च पहाडको हावापानी हुने स्थानीय जातको धान १८ सय मिटरभन्दा माथिको भूभागमा पहाडी भेगमा फल्छ । मार्सी धान संसारको उच्च धान फल्ने भाग छुमचौर ( २,८५० मिटरको उचाइ) सिञ्जा उपत्यका, तिला–हिमा नदीको छेउमा फल्छ । यसको जिन उत्पादन थलो जुम्लामा भएकाले जिन बैंकमा दर्ताका लागिसमेत पठाइएको छ ।  
 

See More On

सुझावित समाचार