आगामी स्थानीय तहको निर्वाचनमा बाँकेका सात तेस्रोलिंगी मतदाताले मताधिकार प्रयोग गर्ने भएका छन्। तीमध्ये नेपालगन्ज उपमहानगरपालिकामा चार, कोहलपुर नगरपालिकामा एक, राप्ती सोनारी र खजुरा गाउँपालिकामा एक-एक तेस्रोलिंगी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए।
त्यसैगरी बाँकेमा १८ वर्ष पूरा भएका कुल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन्। तीमध्ये पुरुष एक लाख ६७ हजार ३४९ र महिला एक लाख ६२ हजार ११७ रहेका कार्यालयले जनाएको छ।
विसं २०७४ को स्थानीय निर्वाचनताका जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकामा यस वर्ष करिब ८० हजार मतदाता थपिएका जनाइएको छ। जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छ। मतदाता संख्या बढेकाले ५२ मतदान केन्द्र पनि बढेको सूचना अधिकारी पन्तले बताए। रासस