प्रहरीले मकवानपुरको दुई छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा अवैध लागुऔषध गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल र मनहरी गाउँपालिका– ६ लोथर खोलाबाट दुई सय ६५ किलो गाँजासहित पाँचजनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका– १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली, धादिङ रोराङ– २ बस्ने ३० वर्षीय मानबहादुर चेपाङ, ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरि– ३ बस्ने ५३ वर्षीय बुद्धिबहादुर थिङ र चितवन राप्ती नगरपालिका– ११ बस्ने ५५ वर्षीय सञ्चबहादुर थिङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
आइतबार राति जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलबाट खटिएको टोलीले भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५६४० नम्बरको पिकअप गाडी हेटौँडा– १ मा रोकी चेकजाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको एक सय ६५ किलो गाँजा बरामद भएपछि गाडीचालक हेटौँडाका नेपालीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए।
यसैगरी, आइतबार राति २ः४५ बजे इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा मनहरी– ६ स्थित लोथर खोलाबाट शंकास्पद रूपमा पिठ्युँमा भारी बोकी आइरहेका चारजनालाई रोकी चेकजाँच गर्दा सय किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।