अक्षय कोषको ब्याजबाट रुम्जाटारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयले अक्षय कोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। जिल्लाको सिद्धिचरण नगरपालिका– ४ मा रहेको रुम्जाटार माविले दाताको सहयोगमा स्थापना भएको अक्षय कोषको ब्याजबाट २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।

अक्षय कोषका दाता एवं प्रदेश १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले विद्यार्थीलाई मंगलबार छात्रवृत्ति हस्तान्तरण गरेका छन्। विद्यायलमा अक्षय कोष स्थापनार्थ पूर्वमन्त्री गुरुङले ३० लाख रकम सहयोग गरेका थिए। दाताहरबाट प्राप्त ४३ लाख ६१ हजार दुई सय ११ मार्फत सञ्चित दुई लाख ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक गोकर्ण बानियाँले बताए।

एकल महिला घरमूली भएका विद्यार्थी, कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी, ९ देखि १२ कक्षासम्म सिभिल इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थी र कक्षा ११ र १२ का गरिब तथा जेहनदार छात्रछात्रालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको हो।

कार्यक्रमका अवसरमा ०७८ को माघ महिनामा लिइएको अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो। विद्यालयको आर्थिक वर्ष ०७७/७८ को सामाजिक लेखा परीक्षणसमेत विद्यालयले सार्वजनिक गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा सांसद गुरुङले विद्यार्थी देशको भविष्य भएकाले शिक्षामा गरिने लगानी फलदायी हुने बताए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने उनको भनाइ थियो।

रुम्जाटार माविमा पूर्वी पहाडका ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर र सिन्धुली जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्।

सुझावित समाचार