लमजुङमा एक सय ८२ मतदान केन्द्र निर्धारण, एक लाख साढे ३१ हजार मतदाता

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२  मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामवलीअनुसार लमजुङमा मतदाताको संख्या  एक लाख ३१ हजार चार सय ९४ रहेको छ । जिल्लामा यसअघि एक  लाख २२ हजार आठ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । 

मतदानस्थलको अनुगमन र निरीक्षण तीव्र
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरक्षा निकायले मतदानस्थलको अनुगमन र निरीक्षण तीव्र पारेका छन् । लमजुङमा प्रहरी प्रशासनले राजनीतिक कार्यक्रमको पनि सुरक्षा सतर्कता बढाएको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतदानस्थलको सुरक्षा अवस्था, यातायात, मतदाताको पहुँचबारे जानकारी लिइएको बताए ।

मतदानस्थल र केन्द्रको निरीक्षण तथा अवलोकनमा नेपाल प्रहरीका डिएसपी कृष्णबहादुर कार्की, सशस्त्रका डिएसपी नवराज थापालगायत कर्मचारी र प्रहरीले सँगसँगै मतदानस्थल र केन्द्रको अवलोकन गरेका छन् । सुरक्षा निकायले लमजुङका १० वटा बढी मतदानस्थललाई अति संवेदनशीलमा राखेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन् । यसमा एक सय २३ वटा मतदानस्थल छन् । एक सय ८२ वटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय लमजुङले  जनाएको छ । 
 

सुझावित समाचार