कोभिड–१९ महामारीबाट विश्वव्यापी आर्थिक पुनर्वहाली विशेषतः विकासोन्मुख मुलुकमा कमजोर नै थियो । त्यसमा युक्रेनमाथि रुसको विनाशकारी युद्धले थप तहसनहसको अवस्था निम्त्याइदिएको छ । रुसी आक्रमणका तत्कालीन प्रभाव देखिन सुरु भइसकेका छन् । विश्वलाई फेरि शक्ति राष्ट्रको द्वन्द्वले परिभाषित गरेको वेला मुलुकहरूले विकासको दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने देखिन्छ ।
एक समय थियो, जब विकास अर्थशास्त्रीहरू मुख्यतः वृद्धिमा केन्द्रित थिए । तीव्र आर्थिक वृद्धि नै समृद्धिको आधार हो भन्ने विश्वास गरिन्थ्यो । सन् १९८० को दशकदेखि सामाजिक समावेशिता र वातावरण विकासका नीतिमा समाविष्ट हुन थाले र समयक्रमसँगै यी विषयले चर्चा पाउँदै गए । रसियाले युक्रेनमा आक्रमण गर्नुअघि र विश्व महामारीको चपेटामा पर्नुअघि नै उदीयमान बजार एवं विकासशील अर्थतन्त्र भएका मुलुक (इएमडिइएस) वृद्धि, समावेशिता र वातावरणलगायत सबै मोर्चामा संघर्ष गरिरहेका थिए । सन् २०२० मार्चमा विश्व बैंकको अनुमानअनुसार इएमडिइएसभित्र असमानता, इएमडिइएस र विकसित अर्थतन्त्रबीचको असमानताको खाडल एक दशकअगाडिको अवस्थामा पुगेको थियो ।
बढ्दो गरिबी, विनाशकारी प्राकृतिक प्रकोप र चुलिँदो नागरिक द्वन्द्वबीच विकासशील मुलुकका नीति–निर्माताले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने गरी जलवायु नीति बनाउन संघर्षरत हुनु अस्वाभाविक होइन । र, उनीहरू थप चुनौती पर्खिरहेका छन् । अमेरिकामा जनवरीमा मुद्रास्फीति सात दशमलव पाँच प्रतिशत पुगेपछि अमेरिकी फेडरल रिजर्भले यस वर्षको सात योजनाबद्ध त्रैमासिक–बिन्दु ब्याजदर वृद्धिको पहिलो कार्यान्वयन गर्दै मौद्रिकतामा कडाइ गर्न थालेको छ । रिजर्भका अध्यक्ष जेरोम पावेलले यदि मुद्रास्फीति बढिरहन्छ भने ब्याजदरमा थप ठूलो वृद्धि आवश्यक हुन सक्छ भन्ने बताएका छन् । इएमडिइएसमा नीतिगत वातावरण थप कठिन हुनेछ, जहाँ तरलताको कमी, बलियो अमेरिकी डलर र द्रुत पुँजी बहिर्गमनका लक्षण देखिनेछन् ।
युक्रेन–रुस युद्धले यस मामिलालाई झनै विकराल बनाइदिएको छ । ओइसिडीका अनुसार रुसको द्वन्द्वले यस वर्षको विश्वव्यापी जिडिपी कम्तीमा एक प्रतिशतले घट्नेछ र उपभोक्ता मूल्य करिब दुई दशमलव पाँच प्रतिशतले बढ्नेछ । र, रुस पनि गम्भीर आर्थिक मन्दीको गर्तमा फस्नेछ । इएमडिइएस (चीनबाहेक) का सन्दर्भमा जिडिपी आँकडा तीन दशमलव दुई प्रतिशत हुनेछ, जुन सन् २००८ को विश्वव्यापी वित्तीय संकटअघिको औसत वार्षिक वृद्धिदरभन्दा आधा कम हो ।
तर, परिदृश्यमा वृद्धि एक हिस्सा मात्रै हो । द युनाइटेड नेसन्स कन्फरेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट (युएनसिटिएडी) ले बढ्दो वित्तीय अस्थिरता र बढ्दो खाद्यान्न, इन्धन एवं व्यापार लागतले सम्पत्तिको तीव्र बिक्री, विनिमय दर अवमूल्यन र ऋण संकटको दुश्चक्र निम्त्याउन सक्छ भनेर अनुमान गरेको छ ।
इएमडिइएससँग जोखिम कम गर्नका लागि थोरै विकल्प छन् । ऐतिहासिक रूपमा चुलिएको ऋणको अवस्थामा इएमडिइएससँग आफ्नो अर्थतन्त्रलाई जोगाउन वित्तीय विकल्पको अभाव छ । यसबाहेक सञ्चित मुद्रा जारी गर्ने मुलुकविपरीत इएमडिइएस मात्रात्मक सहजतामा फर्कन सक्दैनन् । र, विकसित अर्थतन्त्र विशेषतः युरोपमा बढ्दो सुरक्षा जोखिम, बढ्दो रक्षा–खर्च आवश्यकता र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो शरणार्थी संकटको सामना गर्दै छ । त्यस अर्थमा इएमडिइएस ऋण चुक्ता गर्न वा वित्तीय एवं प्रशासनिक संकटको सामना गर्न बाह्य सहयोगमा भर पर्ने स्थितिमा छैन । त्यसमा रुसमाथि पश्चिमले लगाएको प्रतिबन्ध र त्यसले आपूर्ति शृंखलामा ल्याउने प्रभावले जोखिम थप बढ्ने देखिन्छ ।
तर, युद्ध जसरी अगाडि बढिरहेको छ, मुलुकहरू आफ्नो विकास एजेन्डाका ठाउँमा राष्ट्रिय सुरक्षालाई धेरै प्राथमिकता दिनेछन् । ओइसिडीका अनुसार रक्षा खर्च मात्रै नभई ऊर्जा र खाद्य स्रोतको विविधीकरण हुनु हो, जसले वैश्विक खण्डीकरणको संकेत दिन्छ । हालैका दशकमा ‘उदार विश्वव्यापीकरण’ले इएमडिइएसलाई विश्व अर्थतन्त्रमा समाहित गर्न सक्षम बनाएको छ । तर, हार्वर्डका डेनी रोड्रिकले व्याख्या गरेझैँ युक्रेनमा रुसको आक्रमणले ‘सन् १९८९ को ‘उदार’ अन्तर्राष्ट्रिय व्यवस्थालाई’ र सो व्यवस्थाले उग्र–उदारीकरणलाई मारिदिएको छ । रुसले सामना गरिरहेको आर्थिक र वित्तीय प्रतिबन्धले वैकल्पिक आर्थिक प्रणाली र संरचना विकास गर्ने प्रयासलाई गति दिनेछ । यसले ओइसिडीले चेतावनी दिएझैँ वित्तीय बजार र सीमापार भुक्तानीमा अमेरिकी डलरको प्रभुत्व घटाउन सक्छ ।
इएमडिइएसका लागि विदेशी मुद्रा भण्डारको मुद्रा संरचनामा परिवर्तन आवश्यक हुन सक्छ । थप भन्नुपर्दा इएमडिइएसले यस्तो विश्वमा अनुकूलन गर्नुपर्नेछ, जहाँ विशेषज्ञता, अर्थतन्त्र र सूचना एवं ज्ञानको प्रसार धेरै गाह्रो हुनेछ । इएमडिइएसले चीनको संरचनात्मक रूपान्तरणबारे हालैको युएनसिटिएडी प्रतिवेदनबाट प्रेरणा लिन सक्छ, जहाँ वित्त, औद्योगिक विकास, अन्तर्राष्ट्रिय व्यापार र डिजिटल अर्थतन्त्र लगायत क्षेत्रमा व्यावहारिक, बृहत् र एकताबद्ध नीतिगत रणनीति बनाउनुमा देशको सफलतालाई जोड दिइएको छ । हामीले लामो समयदेखि तर्क गर्दै आएका छौँ, चीनले गल्तीबाट सिक्ने र परिवर्तनशील परिस्थितिमा अनुकूलन गर्ने इतिहास, चीनको विकास नभई लचिलोपनको हिसाबले पनि आवश्यक छ ।
पश्चिमका ‘यथार्थवादीहरू’ चीनको शासन मोडेल अन्य मुलुकमा नक्कल गर्न नसकिनेमा जोड दिन्छन् । तर, पश्चिमा मुलुक आफ्नै नयाँ चुनौतीको सामना गर्दै इएमडिइएसको विकासलाई सही मार्गमा डो¥याइराख्न आवश्यक सहयोग प्रदान गर्न असमर्थ देखिन्छन् । यो परिस्थितिलाई ध्यानमा राख्दै विकासका लागि आफ्नो दृष्टिकोणको निर्माण इएमडिइएसमै सुरक्षित छ । चीनको अनुभवले इएमडिइएसलाई राम्रैसँग टेवा दिन सक्छ । प्रोजेक्ट सिन्डिकेटबाट