सेयर बजारमा गिरावट कायमै रहेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ३० दशमलव ४३ अंकले घटेर दुई हजार पाँच सय ४१ दशमलव ८३ बिन्दुमा आइपुगेको छ । घटेको नेप्सेसँगै अघिल्लो दिन आइतबार करिब पाँच अर्बको कारोबार भएको बजारमा सोमबार कारोबार रकम पनि सुस्ताएको छ । विशेष गरी बिमा समितिले चुक्ता पुँजी बढाउन दिएको निर्देशनसँगै बिमा कम्पनीहरूको सेयर मूल्यमा सुधार आएको थियो । बिमा कम्पनीको सेयर मूल्यमा आएको सुधारसँगै कारोबार रकम पनि बढ्न पुगेको थियो ।
तर, यस दिन बिमा समूह कम्पनीहरूको सेयर मूल्य पुनः घटेसँगै कारोबार रकम पनि सुस्ताएको छ । बिमा कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै लगानीकर्ताले सस्तो मूल्यमा सेयर बेच्न नचाहँदा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम घट्न पुगेको लगानीकर्ता नयन बास्तोला बताउँछन् ।धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३१ कम्पनीको ४९ लाख ५८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ५४ करोडमाथिको कारोबार भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको पाँच करोड रुपैयाँदेखि २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । ट्रेडिङ समूह, ‘अन्य’ समूह, जीवन बिमा समूह, निर्जीवन बिमा समूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् भने उत्पादनमूलक समूह, लगानीगत समूह र विकास बैंक समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।सोमबार एक सय ६७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । आइसिएफसी फाइनान्स, सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४ प्रतिशतदेखि करिब ५ प्रतिशतले बढेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ६ दशमलव १० प्रतिशतले बढ्दा ङादी ग्रुप पावर कम्पनीको २ प्रतिशतले बढेको छ ।
विन नेपाल लघुवित्तको लाभांश प्रस्ताव
विन नेपाल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।