आगामी स्थानीय निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार कुल मतदातामध्ये ८९ लाख ९२ हजार दशजना पुरुष र ८७ लाख ४१ हजार पाँच सय ३० जना महिला रहेका छन् । अर्यालका अनुसार यौनिक अल्पसंख्यक मतदाताको संख्या १८३ छ । 

आयोगले मतदानस्थल तथा मतदान केन्द्रको अन्तिम संख्या पनि टुंग्याएको छ । स्थानीय तह निर्वाचनका लागि १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र कायम गरिएको अर्यालले नयाँ पत्रिकालाई जानकारी दिए । आयोगले नेपालको निर्वाचन इतिहासमा पहिलोपटक निर्वाचनको अघिल्लो दिनलाई ‘कट अफ डेट’ मानेर मतदाता नामावली टुंग्याएको हो । 

यसअघि सरकारले निर्वाचनको मिति घोषणा गरेको मितिसम्ममा १८ वर्ष उमेर पुगेकाहरूको नाम मतदाता नामावलीमा समावेश गर्ने प्रचलन थियो । तर, यसपालि आयोगले निर्वाचन हुनुभन्दा अघिल्लो दिन अर्थात् २९ वैशाखसम्म १८ वर्ष पुग्ने नागरिकको नाम मतदाता नामावलीमा समावेश गरेको छ । 

आयोगले यसपालि मतदाताको संख्या एक करोड ७९ लाख पुग्ने अनुमान गरेको थियो । ०७४ को निर्वाचनमा मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ रहेको थियो ।

सुझावित समाचार