गठबन्धनको अधिकार जिल्लाको निर्देशनमा पालिकामा हुन्छ : मन्त्री झाँक्री

शनिबार, १२ चैत, २०७८
डिजिटल संस्करण

सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले चुनावी गठबन्धनको अधिकार जिल्लाको निर्देशनमा पालिकाहरुमा हुने बताएकी छिन्। एकीकृत समाजवादी गुल्मीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उनले यसमा केन्द्रले समन्वय तथा सैद्धान्तिक विषयमा सहजीकरण मात्रै गर्ने बताइन्।

भाषणभन्दा काम र जनाधारमा पार्टी बलियो बन्ने उल्लेख गर्दै उनले निर्वाचनको सामना गर्न कमिटी आवश्यक पर्ने भएकाले एकजुट भएर संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरिन्। स्थानीयस्तरमा सबै वडा, पालिका र क्षेत्र तथा वर्गीय संगठनका कमिटी विस्तार गर्नसमेत उनले जिल्ला कमिटीलाई निर्देशन दिएकी छिन्।

पार्टीमा नयाँ रक्त सञ्चारको उद्घोष गर्न पार्टी अध्यक्ष गुल्मी आएको सन्दर्भ राख्दै उनले अब सत्तागठबन्धनबाट पनि संयुक्त चुनावी मोर्चा र सभाहरू हुने स्पष्ट पारिन्। मन्त्री झाँक्रीले सीमित स्रोतसाधनबाट असीमित आशा पूरा गर्न निकै कठिन भएकाले सडक, सभाहल, सुरक्षित आवासलगायतका क्षेत्रमा काम भइरहेको बताइन्।

सुझावित समाचार