अब्बल बन्दै गुल्मी अस्पताल : ३५ प्रकारका विशिष्टिकृत परीक्षण थपियो

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

गुल्मी अस्पतालले प्रयोगशालाको सेवालाई सुदृढीकरण गर्दै विशिष्टिकृत परीक्षण सुविधा सञ्चालनमा ल्याएको छ । प्रयोगशाला आधुनिक चिकित्साशास्त्रको मेरुदण्ड हो । गुल्मी अस्पतालबाट थाइराइडको एन्टिबडी परीक्षण, विभिन्न भिटामिनको मात्रा परीक्षण, ट्युमर मार्कर परीक्षण, मधुमेहमा गरिने परीक्षण, हर्मोनको परीक्षण, रगत जमेको वा नजमेको पत्ता लगाउन गरिने परीक्षण सुरु गरिएको गुल्मी अस्पतालका ल्याब इन्जार्ज लक्ष्मण पन्थीले जानकारी दिए । 

त्यस्तै, अस्पतालले मुटु रोग तथा कलेजो रोग पत्ता लगाउन गरिने विशेष परीक्षण, रक्तअल्पताको प्रकार छुट्याउनेलगायतका ३५ प्रकारका नयाँ परीक्षणको सुविधा थपिएको पन्थीले बताए । यसैगरी, निश्चित समयको लागि ब्लड बैंकमा रगत सञ्चय गरेर राख्न सक्ने सुविधासमेत थपिएको छ ।  

जनशक्तिको चुनौती
बिरामीको बढ्दो चापसँगै गुल्मी अस्पताललाई आफ्नो सेवा व्यवस्थपानमा साधन, स्राेत, पूर्वाधार र जनशक्तिको चुनौती रहेको छ ।  सबै अप्ठ्यारोका बीच पनि अस्पतालले सेवाको गुणस्तरीयता कमी हुन नदिएको पन्थीले बताए । गुल्मी अस्पताल प्रयोगशालाले प्राविधिक, प्रविधि र प्रवर्द्धनको सही संयोजन गर्दै प्रयोगशालाको आधुनिकीकरण र गुणस्तरीयतामा विशेष जोड दिइएको छ । प्रयोगशाला परीक्षणमा सम्भव भएसम्म म्यानुयल विधिको प्रयोगलाई निरुत्साहित गर्दै स्वचालित विधिको उपयोगमा ल्याइएको छ । 

‘कुनै पनि स्वास्थ्य प्रयोगशालाबाट जारी गरिएको रिपोर्ट सही, तथ्यगत, विश्वसनीय र सान्दर्भिक हुनु अत्यन्त जरुरी छ । प्रयोगशालाले गुणस्तरलाई ग्यारेन्टी गर्न सक्ने प्रणालीको विकास एवं अनुसरण गरेको हुनुपर्दछ,’ पन्थीले भने, ‘बिरामीको ज्यान जाने वा बच्ने भन्ने परीक्षण रिपाेर्टमा भर पर्छ ।’ प्रयोगशालालाई राष्ट्रिय बाह्य गुणस्तर मूल्यांकन योजनामा आबद्धता गरिएको छ । 

प्रयोगशाला रिर्पोटको गुणस्तर अतिउत्तम 

गुल्मी अस्पतालमा प्रयोगशालाको गुणस्तर सुनिश्चितता प्रयोजनार्थ प्रयोगशालामा आन्तरिक गुणस्तर नियन्त्रण अभ्यासको विकास गरिएको छ । गुल्मी अस्पतालले प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चितताका सम्बन्धमा गुणस्तर मापन गर्दा अतिउत्तम नतिजा हासिल गरेको छ । गुणस्तर नियन्त्रण प्रयोजनार्थ राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला शाखाबाट वितरण गरिएको ४९ लटको क्वालिटी कन्ट्रोल स्याम्पल परीक्षण गर्दा रिपाेर्टकाे गुणस्तर अतिउत्तम आएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । 

प्रयोगशालाले नमुना संकलन, परीक्षण, भण्डारण, परीक्षण विधि र ढुवानीलगायत प्रक्रियाका लागि राष्ट्रियस्तरमा निर्धारण गरिएको कार्य सञ्चालन निर्देशिका समयसापेक्ष तथा प्रयोगशाला सापेक्ष अद्यावधिक गरी सोअनुरूप कार्य गर्ने गराउने गरेको पच्याले जानकारी दिए । 

दैनिक सरदर तीन सयलाई सेवा
जिल्ला अस्पतालबाट दैनिक सरदर तीन सयजनाले विभिन्न सेवा लिने गरेका छन् । पहिले दैनिक सरदर डेढ सयले सेवा पाउँथे । सरकारले स्वास्थ्य बिमा सञ्चालन गरेपछि सेवा लिनेको संख्या दोब्बर भएको अस्पतालका प्रमुख डाक्टर पच्याले बताए । 

गत फागुन महिनामा तीन हजार नौ सय ७८ महिला र दुई हजार चार सय २४ पुरुषले अस्पतालबाट विभिन्न प्रकारका सेवा लिएका छन् । जसमा सवैभन्दा बढी २९ देखि ५९ वर्ष उमेर समूहका नागरिक छन् । २९ देखि ५९ वर्ष उमेर समूहमध्ये दुई हजार ६ सय ४० महिला र एक हजार ७१ जना पुरुष रहेको गुल्मी अस्पतालका मेडिकल रेकर्डर बाबुराम पोख्रेलले जानकारी दिए । 

स्वास्थ्य विमाबाट चार हजार दुई सय, ओसिएमसीबाट सात र सामाजिक सेवा इकाइबाट ३१ ले पूर्ण छुट र ५६ जनाले आंशिक छुट पाएको पोख्रेलले बताए । फागुन महिनाका ७९ प्रसूतीमध्ये २४ वटा जटिल शल्यक्रियामार्फत भएका छन् । त्यस्तै, १३ पुरुष र चार महिला गरेर १७ जनाको पोस्टमार्टम गरिएको छ । 

मेडिकल रेकर्डर पोख्रेलका अनुसार गुल्मी अस्पतालमा फागुन महिनामा मात्रै दुई हजार एक सय ७८ जनाले प्रयोगशालाबाट विभिन्न परीक्षण गराएका छन् । गत वर्ष ७७ हजार दुई सय ७६ जनाले प्रयोगशाला सेवा लिएका छन् । आर्थिक बर्ष ०७६÷०७७ मा ३४ हजार ४४ ले सेवा लिएका थिए । 

भिड कम गर्न टोकन प्रणाली

सेवाग्राहीको भिड कम गर्न गुल्मी अस्पतालमा ‘टोकन प्रणाली’ शुरु भएको छ । स्वास्थ्य बिमा लागु भएपछि अस्पतालमा दैनिक सरदर तीन सय जना स्वास्थ्य सेवा लिने गरेका छन् । साँघुरो भवनबाट सेवा प्रबाह गर्नुपर्ने र सेवाग्राहीको भिड बढेकाले पाँच लाखको लागतमा मेसिन खरिद गरेर ‘टोकन प्रणाली’ शुरु भएको हो । 

टोकन प्रणालीको शुरुवात गर्दै अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेयले अस्पतालको बहिरंग बिभागमा आएका बिरामीले टिकट काट्न लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न टोकन प्रणाली शुरु गरीएको बताए । पाण्डेयले सपथ लिएकै दिनबाट ‘टोकन प्रणाली’ शुरु गरिएको छ । 
 

सुझावित समाचार