नेपालमा इलेक्ट्रिक सवारीसाधनको आकर्षण बढेसँगै बिजुली कारको आयात बढेको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा तीन अर्ब ९७ करोड रुपैयाँबराबरको १३ सय ५७ बिजुली कार आयात भएका छन् । सरकारले पनि विद्युतीय गाडीको प्रयोग बढाउन भन्सार, अन्तःशुल्कदेखि बैंक ऋण सडक दस्तुरसम्म छुट दिएको छ ।
पछिल्लो समय नेपाली बजारमा विश्वका १५ भन्दा बढी कम्पनीका विद्युतीय कार भित्रिसकेका छन् । अहिले चिनियाँ, भारतीय, कोरियनदेखि अमेरिकन कम्पनीसम्मका लक्जरियस विद्युतीय कार नेपालको सडकमा गुड्न थालेका छन् । अझै केही नयाँ ब्रान्ड नेपाल ल्याउने तयारीमा आयातकर्ता छन् । नेपालमा चीन, भारत र कोरियन ब्रान्डका विद्युतीय गाडी बढी बिक्री भइरहेको व्यवसायी बताउँछन् । नेपाली सडकमा दुईपांग्रे मोटरसाइकल र स्कुटर, तीनपांग्रे रिक्सा, चारपांग्रे कार, जिप र भ्यानदेखि ६ पांग्रे विद्युतीय बसहरू कुद्न थालिसकेका छन् ।
कुन देशबाट कति भित्रिए ?
नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार, जिप र भ्यानमा चिनियाँ ब्रान्डको वर्चस्व रहेको भन्सार विभागले सोमबार सार्वजनिक गरेको आठ महिनाको आयात–निर्यात तथ्यांकले देखाउँछ । दुईपांग्रे र तीनपांग्रे सवारीसाधन पनि बढी चीनबाट भित्रिने गरेका छन् । आठ महिनामा चीनबाट दुई अर्ब २४ करोड १४ लाख रुपैयाँबराबरको सात सय ५७ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् ।
भारतबाट एक अर्ब पाँच करोड ५४ लाख रुपैयाँबराबरको चार सय २४ विद्युतीय कार भित्रिँदा कोरियाबाट ४९ करोड ८० लाखको एक सय ३२ कार, अमेरिकाबाट ६ करोड २४ लाखको १५ कार, जापानबाट १० करोड ८८ लाखको २८ कार र फ्रान्सबाट ३४ लाख ६२ हजार मूल्यको एउटा कार भित्रिएका छन् । भारतबाट टाटाको नेक्सन इभी बढी भित्रिने गरेको छ ।

कति क्षमताका कति गाडी ?
नेपाली बजारमा १७ किलोवाटदेखि सय किलोवाट आवर क्षमतासम्म ब्याट्री ब्याकअप भएका विद्युतीय कार भित्रिसकेका छन् । जसले एकपटकको फुल ब्याट्री चार्जमा साढे पाँच सय किलोमिटरसम्म माइलेज दिने व्यवसायीहरू बताउँछन् । साढे तीन सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार नेपालमा बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।
भन्सार विभागका अनुसार आठ महिनाको अवधिमा चीन, फ्रान्स, इन्डिया, दक्षिण कोरियाबाट सय किलोवाटसम्म मोटर क्षमताका ६ सय २५ भन्दा बढी कार भित्रिएका छन् । यस्तै, कोरिया र अमेरिकाबाट सयदेखि एक सय ५० किलोवाटसम्म मोटर क्षमताका १३ भन्दा बढी कार भित्रिँदा, चीन र जापानबाट एक सय ५० देखि दुई सय किलोवाट मोटर क्षमताका ६ सय ८४ कार, कोरियाबाट १००–२०० किलोवाट मोटर क्षमताका ३३ कार भित्रिएका छन् । अमेरिकाबाट तीन सय किलोवाटभन्दा बढी मोटर क्षमता भएका दुईवटा गाडी भित्रिएको विभागले जनाएको छ ।

अहिलेसम्म नेपालमा महिन्द्रा, किया, हुन्डाई, एमजी, बिवाइडी, टाटा, दिगो, ग्रेटवाल, पियाजिओ, डेरी, डिएफएसके, टेस्ला, अउडी, निसानलगायत ब्रान्डका विद्युतीय कार आइसकेका छन् । यस्तै, दर्जनौँ ब्रान्डका दुईपांग्रे र तीनपांग्रे विद्युतीय सवारी नेपालमा बिक्री भइरहेका छन् । दुईपांग्रे र तीनपांग्रेमा चिनियाँ ब्रान्डको वर्चस्व छ ।
नेपालमा करिब १३ वर्षअघि पहिलोपटक सानो विद्युतीय कार महिन्द्रा ‘रेभा’ प्रवेश गरेको थियो । विश्वकै प्रिमियम ब्रान्ड मानिने अउडीका तीनवटा विद्युतीय कार नेपाली सडकमा कुद्छन् । यस्तै, चर्चित अमेरिकन विद्युतीय सवारीको ब्रान्ड टेस्लाका साढे तीन करोडसम्म मूल्यका १९ वटा गाडी बिक्री भइसकेको नेपाली विक्रेता अरित इन्टरनेसनलका सञ्चालक विनोद श्रेष्ठले बताए । ‘टेस्लाका मोडल थ्री र मोडल एक्स गरी दुई मोडलका आइरहेका छन्, छिट्टै मोडल वाई पनि आउँदै छ,’ उनले भने, ‘नेपालमा मोडल थ्री १५ वटा, मोडल एक्स चारवटा कुदिरहेका छन्, मोडल वाई पाँचवटा आउँदै छन् ।’
साढे ५४ सय विद्युतीय रिक्सा भित्रिए
चालू आवको पहिलो आठ महिनामा भारत र चीनबाट पाँच हजार चार सय ६४ युनिट तीनपांग्रे विद्युतीय रिक्सा भित्रिएका छन्, जसमध्ये सात सय ६४ युनिट रिक्सा एसेम्बल नगरिएका हुन् भने ४७ सय युनिट रिक्सा एसेम्बल भइसकेका हुन् । चीनबाट एसेम्बल नगरिएका रिक्सा पाँच सय ८४ युनिट र भारतबाट एक सय ८० युनिट रिक्सा भित्रिएका छन् । यस्तै, तयारी अवस्थाका रिक्सा चीनबाट ३३ सय ९२ युनिट र भारतबाट १३ सय आठ युनिट भित्रिएको विभागले जनाएको छ । दुई देशबाट एसेम्बल गरिएका र नगरिएका गरी ५३ करोड ३३ लाख मूल्यबराबरका रिक्सा भित्रिएका छन् ।