लोडसेडिङ कहिल्यै दोहोरिँदैन : प्राधिकरण

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

३८ रुपैयाँ प्रतियुनिटमा खरिद गरेको विद्युत् नौ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था 

अहिले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् अभाव ‘तत्कालिक संकट’ मात्र भएको भन्दै अब लोडसेडिङ कहिल्यै नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘घरायसी, साना उद्योग र व्यावसायिक ग्राहकलाई लोडसेडिङ हुँदैन । शुक्रबारदेखि प्रतियुनिट ३८ रुपैयाँ तिरेर विद्युत् खरिद गरी औद्योगिक ग्राहकलाई समेत उपलब्ध हुनेछ ।’ बिहीबार राति १२ बजेर १५ मिनेट गएपछि सम्पूर्ण प्रणाली सामान्य हुनेछ । अहिले अनुमानित सात हजार मेगावाट आवर लिने तयारी छ । बिहीबार प्राधिकरणले अधिकतम प्रतियुनिट २० रुपैयाँ भारु राखेर बोलकबोल गरेको छ । पछिल्लो तीन दिन बोलकबोल गरिएको मूल्यमा विद्युत् नपाउँदा औद्योगिक क्षेत्रमा अभाव हुन पुगेको स्पष्टीकरण दिएको छ  । 

नेपालले आयात गर्ने विद्युत् भारतले कोइला (कोल) आयात गरेर उत्पादन गरेको हो । त्यसरी उत्पादन गरिएको विद्युत् मात्र निर्यात गर्न पाउने भारतीय नीति रहेको छ । अहिले भारतमा आयातीत कोइलाको अत्यधिक अभाव छ । अन्तर्राष्ट्रिय रूपमा रुस–युक्रेन युद्धले पनि असर गरेको छ । यसले चर्को मूल्यवृद्धि भएको हो । 

दैनिक २२ करोड थप लागत आवश्यक 
भारतबाट आयात गरिने विद्युत्को प्रतियुनिट मूल्य यथावत् रहेको अवस्थामा प्राधिकरणले धान्न गाह्रो पर्न सक्नेछ । अहिलेको मूल्यमा खरिद गर्ने हो भने ३५ दिनमा आठ अर्ब रुपैयाँ थप लागत आवश्यक पर्नेछ । २० रुपैयाँ भारुमा खरिद गर्दा दैनिक २० देखि २२ करोड थप मूल्य तिर्नुपर्नेछ । छोटो समयमा महँगो नै परे पनि उद्योगलाई सहयोग पुगोस् भनेर बढी मूल्यमा आयात गर्न लागिएको प्राधिकरणको भनाइ छ । यो लामो समयसम्म धान्न नसकिने कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । एक हप्तासम्मका लागि बढेको मूल्यमा खरिद गर्न सकिनेछ, त्योभन्दा लामो समय जान भने कठिन हुने उनको भनाइ छ । 

अहिले नेपाल विद्युत् प्राधिकरणको औसतमा विद्युत्को बिक्रीदर प्रतियुनिट नौ रुपैयाँ छ । तर, ३८ रुपैयाँ प्रतियुनिटमा खरिद गरेर नौ रुपैयाँ मात्र प्राप्त हुने अवस्था लामो समय धान्न नसकिने प्राधिकरणका अधिकारीहरूको भनाइ छ । घाटा बढी भएको अवस्थामा सरकारले हेर्ने आशा रहेको घिसिङले बताए । ‘त्यसका लागि आग्रह पनि गरिसकेका छौँ,’ उनले भने । त्यस्तै, उद्योगीबाट पनि सहयोगको अपेक्षा राखिएको छ । तर, अहिले तोकिएको दरमा वृद्धि हुनेछैन । 

अहिलेकै अवस्था रहे दुई महिना समस्या हुनेछ । जेठको मध्यदेखि स्वदेशी उत्पादनले नै धान्नेछ । असारदेखि भने स्वदेशी उत्पादन नै बढी हुने घिसिङको भनाइ छ । वृद्धि भएको मूल्य लामो समय रहेमा असार–साउनमा नेपालले उच्च दरमा बिक्री गर्न सक्ने सम्भावना छ । त्यसवेला भारतमा विद्युत्को माग सबैभन्दा बढी हुन्छ । 

प्राधिकरणको माघसम्मको आयात चार अर्बको हाराहारीमा मात्र छ । यो वर्ष बढीमा आठ अर्ब रुपैयाँको मात्र विद्युत् आयात गर्ने भन्ने प्रक्षेपण हो । तर, अहिलेको अभावले १० अर्ब रुपैयाँ पुग्नेछ । गत वर्ष विद्युत् आयात २५ अर्ब रुपैयाँ थियो । 
 

सुझावित समाचार