दमक गोल्डकप : गोर्खा ब्वाइजको जितमा यानिकको ह्याट्रिक

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण
दमक गोल्डकप : गोर्खा ब्वाइजको जितमा यानिकको ह्याट्रिक

बल अघि बढाउँदै गोर्खा ब्वाइज रुपन्देहीका खेलाडी । तस्बिर : नयाँ पत्रिका

दमक गोल्डकपमा गोर्खा ब्वाइज क्लब रुपन्देहीले कोलकाताको दुर्गापुर सन्डे क्लबविरुद्ध फराकिलो जित निकालेको छ । गोर्खा ब्वाइजका विदेशी खेलाडी यानिकको ह्याट्रिकको सहायतामा दुर्गापुरविरुद्ध ५–० को जित निकालेको हो । 

समयमै स्कोर निस्कियो, यही टर्निङ प्वाइन्ट बन्यो : जग्गुनाथ खड्का, प्रशिक्षक, गोर्खा ब्वाइज
कोलकाता राम्रो टिम हो । समयमा स्कोर निस्कियो । यो नै टर्निङ प्वाइन्ट भयो । खेलाडीले टिमवर्क गरे । आउँदा दिनमा अलिकति मिहिनेत गर्नैपर्छ । हाम्रा खेलाडी सबै ए डिभिजन खेल्ने खेलाडी हुन् । अलिकति मिहिनेत गर्दा जस्तो टिमबाट पनि खेल्न सक्छौँ । 

गोर्खा ब्वाइजका सुशन तामाङ र सुनील खड्काले पनि एक–एक गोल गरे । जितसँगै गोर्खा ब्वाइज दमक गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइजले दोस्रो मिनेटमै अग्रता लिएको थियो । उसका लागि यानिकले दोस्रो मिनेटमै गोल गरेका थिए । मैदानको मध्यभागबाट मिक्चेन तामाङले दिएको पासमा डिबक्समा रहेका यानिकले सुन्दर गोल गरे । 

खेलको २०औँ मिनेटमा गोर्खा ब्वाइजका यानिकले टिमको अग्रतालाई दोब्बर बनाए । खेलको मध्यभागबाट लगेको बललाई दुर्गापुरको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोलमा परिणत गरेका थिए । गोर्खा ब्वाइजले दोस्रो हाफमा ३ गोल थप्यो ।

दमक–३ स्थित मदन भण्डारी रंगशालामा जारी खेलको ५१औँ मिनेटमा सुशन तामाङले थप एक गोल थपे । दुर्गापुरका गोलरक्षक बी किस्कु अघि बढेर बिट हुँदा उनले सहज गोल गरे । खेलको ७०औँ मिनेटमा सुनील खड्काले चौथो गोल गरे । विपक्षी गोलरक्षक किस्कु बिट हुँदा खड्का गोल गर्न सफल भएका हुन् । 

खेलको इन्ज्युरी समयमा यानिकले ह्याट्रिक गर्दै टिमलाई ५–० को जित दिलाए ।  सुशन तामाङको लङ पासमा डिबक्समा रहेका यानिकले गोल गरे । व्यक्तिगत दोस्रो गोलपछि ह्याट्रिकका लागि प्रयासरत यानिक धेरै अवसरमा चुकेका थिए । 

दुर्गापुर निरीह सावित
सुरुवाती समयमै गोल खाएको दुर्गापुर खेलभर विपक्षी गोर्खा ब्वाइजसामु निरीह बन्यो । उसको डिफेन्स र फिनिसिङ लाइन निकै कमजोर हुँदा खेलमा गोलको वर्षा भयो । दुर्गापुरका खेलाडीबीच खेल अवधिभर तालमेल मिल्न सकेन । खेलमा उसले ‘मुभ’ बनाउन नसक्दा हार व्यहोर्न पुग्यो । गोल लाइन कमजोर भएको दुर्गापुरले पाएको अवसर सदुपयोग गर्न सकेन । खेलको चौथो मिनेटमा दुर्गापुरका विमल हस्दाले डिबक्समा गरेको प्रहार विपक्षी गोलरक्षक देव लिम्बूले पन्च गरे । 

६९औँ मिनेटमा विमलले गरेको प्रहार विपक्षी गोलरक्षक लिम्बूबाट रिवाउन्स भएर आयो । उक्त रिवाउन्स बललाई बाबुलाल मुर्मले डिबक्सबाट प्रहार गर्दा पनि गोल हुन सकेन । ८४औँ मिनेटमा एस सोरेनले डिबक्समा गरेको प्रहार विपक्षी गोलरक्षकले पञ्च गरे । 

बिहीबारको खेलको म्यान अफ दी म्याच गोर्खा ब्वाइजका लागि ह्याट्रिक गर्ने यानिक नै भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । शुक्रबारको पहिलो क्वार्टरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङ–मस्र्याङ्दी क्लबबीच हुनेछ । बागमती यसअघि आयोजक दमक–११ लाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

फिनिसिङ लाइन कमजोर भयो : असिमकुमार रोय, प्रशिक्षक, दुर्गापुर सन्डे

यो प्रतियोगितामा आउन तयारीको समय कम भयो । हाम्रो चार खेलाडी आदिवासी कोचिङ क्याम्पमा गए । उनीहरू नहुँदा हाम्रो टिम थोरै कमजोर भयो । म यो खेलदेखि सन्तुष्ट छैन । पाएको मौकामा पनि फिनिसिङ कमजोर भयो । 

सुझावित समाचार