ललितपुरका सुरक्षा निकायहरूले ललितपुरको दक्षिणी भेगको सुरक्षा अवस्थाबारे अनुगमन गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनालगायतको टोली बिहीबार सुरक्षा अनुगमनमा निस्किएको हो ।
उक्त टोली ललितपुरको सातदोबाटोदेखि झन्डै सय किमि टाढा रहेको विकट क्षेत्र ठूलादुर्लुङसम्म पुगेको थियो । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा त्यस क्षेत्रको सुरक्षा अवस्थाबारे बुझ्न र आवश्यक सुरक्षाको तयारी गर्न अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनका अनुसार आगामी निर्वाचनको लागि सुरक्षा रणनीति तय गर्न पनि अनुगमन गरिएको हो ।
आवश्यकताका आधारमा त्यस क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाइनेछ । भट्टेडाँडा, प्युटार, आस्राङ, गिम्दी र ठूलादुर्लुङ क्षेत्रको सुरक्षा अनगुमनमा निस्किएको टोलीले ग्रामीण क्षेत्रका प्रहरी चौकीको अवस्थाबारे पनि रिपाेर्टिङ लिएको छ ।
त्यस्तै, भट्टेडाँडा, आस्राङ र ठूलादुर्लुङमा रहेका प्रहरी चौकीलाई ग्रामीण गस्ती र सुरक्षा बढाउन पनि सुरक्षा निकायका प्रमुखहरूले निर्देशन दिएका छन् । भेगीय हिसाबले ठूलो क्षेत्र रहेको दक्षिण ललितपुरमा सुरक्षा पहुँच भने निम्छरो छ । यस क्षेत्रमा थोरै संख्यामा नियमित प्रहरी परिचालन हुँदै आइरहेका छन् ।
चापागाउँदेखि मकवानपुर र काभ्रेपलाञ्चोक सीमा क्षेत्रसम्म चारवटा प्रहरी चौकी रहेका छन् । त्यस क्षेत्रमा प्रहरी चौकी महानगरीय प्रहरी वृत्त चापागाउँको मातहतअन्तर्गत रहेका छन् । तर ती पनि अस्थायी चौकी हुन् । निर्वाचनको मुखमा सुरक्षा चुनौती देखिने भएकोले सुरक्षा प्रबन्ध मिलाउने तयारी महानगरीय प्रहरी परिसर जावलाखेलले गरेको छ । माग भएअनुसारको प्रहरी त्यस क्षेत्रमा पठाइने तयारी पनि गरिएको परिसरले जनाएको छ ।
जिल्लाको विकटता र भौगोलिकताका कारण त्यस क्षेत्रमा यसअघि सुरक्षा व्यवस्था पनि प्राथमिकतामा नपरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले ग्रामिण क्षेत्रमा रहेका चौकीलाई थप व्यवस्थित पारिँदै लैजाने जानकारी दिए । ‘यहाँका चौकी निकै अभावमा चलेका रहेछन्, ती चौकीहरूको आफ्नै भवन पनि रहेनछ,’ उनले भने, ‘सुरक्षा व्यवस्था बलियो बनाउन सुरक्षा निकाय बस्ने ठाउँ पनि बलियो चाहिन्छ ।’ उनले दक्षिण भेगमा रहेको चौकीहरूको कार्यालय निर्माण गर्न आफूहरूले पहल गर्ने बताए । एसएसपी यज्ञविनोद पोखरेलले ग्रामीण क्षेत्रमा पनि सुरक्षा अवस्था बढाउन आवश्यक रहेको बताए ।
उनले विकट क्षेत्रमा बसेर प्रहरी शान्ति सुरक्षा दिँदै आइरहेको भए पनि प्रहरीको बसोबास भने अस्थायी किसिमको रहेकोले त्यसलाई स्थायी बनाइने बताए । ‘भौगोलिक अवस्थाका कारण यो क्षेत्र निकै विकट मानिन्छ, यस क्षेत्रमा कुनै घटना भइहाले तत्काल प्रहरी पुग्न कठिन छ, त्यसकारण यहाँका प्रहरी चौकीलाई थप व्यवस्थित बनाउन आवश्यक छ,’ उनले भने।
अहिले ग्रामीण भेगका चौकीमा ७ देखि १० जनासम्मको मात्रै दरबन्दी छ । तर जनसंख्या र क्षेत्रफलको हिसाबले यो संख्या निकै कम भएकोले आवश्यक सुरक्षा टोली बढाइने एसएसपी पोखरेलले जानकारी दिए । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी उपाध्याय, एसएसपी पोखरेल, नेपाली सेनाका प्रमुख सेनानी सुमितविक्रम राणा र महेशकुमार सुवाल बाटा, सशस्त्र प्रहरीका एसपी विकास घिमिरे, राष्ट्रिय अनुसन्धानका ललितपुर प्रमुख इन्द्रसिंह लामालगायत रहेका थिए । निर्वाचन केन्द्रका आधारमा यस क्षेत्रमा म्यादी प्रहरीसहितको सुरक्षा व्यवस्था मिलाइनेछ ।